आइभरी कोष्टमा विवादास्पद राष्ट्रपतिय निर्वाचनका विपक्षी उम्मेदवार कोटवारालाई राष्ट्रसंघद्वारा मान्यता

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफ्रिकी राष्ट्र आइभरी कोष्टमा गत महिना सम्पन्न विवास्पद राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेद्वार एलासेन ओटवारा विजयी भएको घोषणालाई अनुमोदन गरेको छ। ओटावारालाई मान्यता दिने विषयमा राष्ट्र संघीय मुख्यालयमा बसेको बैठकमा लामो विवाद भएको थियो।

 

रुसले आइभरी कोष्टको आन्तरिक मामलामा हस्तक्षेप भएको भन्दै अनुमोदनमा अवरोध गरेको थियो। तिन दिन लामो छलफलपछि सुरक्षा परिषद्ले विज्ञप्ती जारी गर्दै विपक्षी उम्मेद्वार ओटावारा आइभोरी कोष्टको नयाँ राष्ट्रपतीमा निर्वाचित भएको घोषणा गरेको थियो। तर पराजित घोषणा गरिएका सत्तारुढ राष्ट्रपति लरेन्ट ग्वाग्वोले भने सत्ता विस्तारको क्रमलाई निरन्तरता दिएका छन्। यता पश्चिमी अफ्रिकी राष्ट्रहरुको क्षेत्रीय संगठन इकोवासले सत्तारुढ राष्ट्रपतिले निर्वाचनमा पराजित भएको स्वीकार नगरेको भन्दै आइभरी कोष्टको सदस्यता निलम्बन गरिएको घोषणा गरेको छ।

 

पन्ध्र सदस्य राष्ट्र रहेको सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तीमा जनताको मत उल्टाउने प्रयासको कडा शब्दमा निन्दा पनि गरेको छ। मतदानका क्रममा उत्तरी क्षेत्रमा विपक्षी उम्मेद्वार समर्थितहरुले धाँधली र मत चोरी गरेको भन्दै निर्वाचन आयोगले गरेको घोषणालाई संवैधानिक अदालतले उल्टाइ दिएपछि त्यहाँ राजनीतिक संकट गहिरिएको छ।

 

आफू विजयी भएको दाबी गर्दै दुवै उम्मेदवारले समानान्तर राष्ट्रपतिको सपथ र मन्त्रिपरिषद् विस्तार गरिसकेका अवस्था छन्।