काठमाडौ – झुठ्ठो विवरण पेस गरी परराष्ट्र मन्त्रालयबाट राहदानी लिन खोज्ने आठ जनालाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतले शुक्रबार म्याद थप गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले बिहीबार परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा धादिङका शान्तिमाया तामाङ, दैलेखका लक्ष्मीकुमारी खड्का, र जानकीकुमारी श्रेष्ठ, रसुवाका पासाङ टेमो तामाङ, ठिमो याङ्जी गलान, छेसाङ तामाङ, लवाङ तामाङ र प्रेम तामाङ रहेका छन् ।
उनीहरुले मन्त्रालयबाट आफ्नो वास्तविक नाम, थर र वतनलाई फरक राखी झुठ्ठा विवरण भएको नक्कली नागरिकतासमेत पेस गरी राहदानी लिन खोजेको प्रहरीले जनाएको छ ।
यसैबीच ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्तलाई महानगरीय प्रहरीवृत्त महाराजगन्जले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ चित्लाङका निमेश तामाङ रहेका छन् । उनले गत साल साउन १२ गते राति गोँगबु-३ बालुवापाटीमा रहेको शान्ता लोयल होस्टेजका निर्देशक फादर सञ्जय एजेलाई ज्यान मार्ने उद्देश्यले हतियार प्रहार गरेका थिए ।