तलब वृद्धिको सरकारी निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका बंगलादेशका गार्मेन्ट उद्योगका मजदूर र प्रहरी बीच हिसांत्मक झडप हुदाँ कम्तीमा तिन जनाको मृत्यु भएको छ।
झडपका क्रममा दर्जनौ घाइते भएका छन्। राजधानी ढाका, चटगाउँ लगायतका विभिन्न शहरमा तलब वृद्धि कार्यन्वनको माग राख्दै प्रदर्शनमा उत्रिएका हजारौ मजदूरहरुलाइ तितरवितर पार्न प्रहरीले अश्रृ ग्याँस र लाठी चार्ज गरेको जानकारी अर्न्तराष्ट्रिय संचार माध्यमहरुले दिएका छन्। सरकारले नोभेम्बर महिना देखि लागू हुने गरी तलब वृद्धि गरेको भएपनि उद्योगहरुले कार्यन्वनमा ढिलाइ गरेको भन्दै मजदूरहरुले केही दिन अघि देखि प्रदर्शन गर्दै आएका छन्।
बंगलादेशको दक्षिणी भागमा रहेका उद्योगहरु ठप्प पारी मजदूरहरु प्रदर्शनमा उत्रेपछि सो क्षेत्र तनाबग्रस्त बन्न पुगेको छ। राजधानी ढाकामा महिला मजदूरहरुले मुख्य सडक अवरुद्ध गरी केही गाडी माथि आगजानी गरेका छन्। चटगाव र रुपगंज शहरमा पनि प्रदर्शनकारी र प्रहरी बीच झडप भएको समचारमा उल्लेख छ। प्रदर्शनकारीले प्रहरी र उद्योगमा ढुङ्गा मुढा जारी राखे पछि स्थितिलाइ नियन्त्रण लिनका लागि लाठी चार्ज गरेको दाबी प्रहरी श्रोतको छ।
बंगलादेशमा संचालित करिब चार हजार पाच सय गार्मेन्ट उद्योगहरुले विश्व विख्यात ब्रान्डका तयारी कपडा उत्पादन गर्दै आएका छन्। बंगलादेशका विभिन्न उद्योग तथा कलकारखानामा तिस लाख भन्दा बढी मजदूरहरु कार्यरत रहेका छन्। जस मध्ये गार्मेन्ट उद्योगमा करिब पचासी प्रतिशत महिला मजदूर कार्यरत रहेका छन्।