इटालीका प्रधानमन्त्री सिल्भियो वर्लेस्कोनीले निहित राजनीतिक स्वार्थका लागि सरकार नढाल्न साँसदहरुलाई आग्रह गरेका छन्। अविश्वास प्रस्तावमाथि मतदानको पुर्व सन्ध्यामा बर्लेस्कोनीले सिनेटलाई संबोधन गर्दै इटालीमा राजनीतिक स्थिरता आवस्यक रहेको र आफ्नो बहिर्गमनले देशलाई अध्यारों र संकटमा धकल्ने दावी गरे। आफ्नो सरकार ढाल्ने प्रयासमा रहेकाहरुले नयाँ सरकार बनाउन नसक्ने उनको भनाई थियो। बर्लेस्कोनीले आफ्नो सरकार अल्पमतमा परेमा देशमा मध्यावधी निर्वाचन गराउने बताएका छन्।
आर्थिक संकटका बाबजुद पनि आफ्नो नेतृत्वको सरकारले राम्रो छबी बनाउन सकेको जिकिर पनि उनले गरे। बर्लेस्कोनीले आफू मध्यमार्गी दलहरुसँग गठबन्धन बनाउने पक्षमा रहेको उनले बताए। सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा बर्लेस्कोनीका निकट सहयोगीहरुले समेत साथ छाडेका कारण उनी संटकमा परेका छन्।
बर्लेस्कोनीले आफ्नो सरकारको मतदान गर्नका लागि सांसदहरुलाई पैसा दिएको भन्ने विवाद उठेपछि त्यस विषयमा छानविन भैरहेको छ। विभिन्न समयमा विवादमा पर्दै आएका कारण उनको छवी देश भित्र मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा समेत नराम्रो रहेको विश्लेषकहरु बताउँछन्।