अमेरिकाको माथिल्लो सदन सिनेटले मस्को र वाशिंगटनबीच भएको परमाणु हतियार कटौती सम्बन्धी स्टार्ट सन्धि अनुमोदन गरेको छ।
हिजो सिनेटमा भएको मतदानमा सन्धिको पक्षमा ७१ मत र विपक्षमा २६ मत परेको थियो। सन् २००९ को जनवरीमा आफ्नो कार्यालय सम्हाले यता राष्ट्रपति बराक ओबामाको प्रशासनका लागि यो एक महत्वपूर्ण मुद्धा बन्दै आएको छ। ओबामाले गत अप्रिलमा रुसी राष्ट्रपति दिमित्री मेदभेदेभसँग परमाणु हतियार कटौतीसम्बन्धी नयाँ स्टार्ट सन्धिलाई कार्यान्वयनमा ल्याउने सहमति गरेका थिए।
सो सहमति अनुसार अमेरिका र रुससँग रहेका आफ्ना परमाणु हतियारलाई ८ वर्षको समयसिमामा ३० प्रतिशत कटौती गर्नुपर्ने हुन्छ। सिनेटमा भएको मतदानपछि ह्वाइट हाउसमा ओबामाले विश्व शान्ति र स्थायित्वको लागि यो एक महत्वपूर्ण कदम हुने बताएका छन्। तर रिपब्लिकन सिनेटरहरुले भने नयाँ स्टार्ट सन्धिको विरोध गर्दै आएका छन्।