अमेरिकामा नेपाली वैज्ञानिक उमेश्वरप्रसाद जोशी

– नवीन अर्याल, नागरिक 

 

काठमाडौं – उमेश्वरप्रसाद जोशी अहिले सोचमग्न छन्। दुई वर्षपछि स्विट्जरल्यान्डको जेनेभा जाने कि अमेरिकाको इलिनोइस राज्यको बातभियामै बसेर अनुसन्धान गर्ने। किनकि, अमेरिकाले थुप्रै विरोधका कारण आफ्नो राष्ट्रिय ऊर्जा प्रशोधनमा ख्याति कमाएको फर्मी ल्याब (फर्मी नेसनल एक्सिलरेटर ल्याबोरेटरी) बन्द गर्दैछ। सबैलाई अचम्म लाग्न सक्छ, विश्वकै दोस्रो सर्वाधिक ठूलो ऊर्जा प्रशोधन केन्द्र बन्द हुनुमा उमेश्वरप्रसादको के सरोकार?

 

उनी २६ वर्षदेखि फर्मी ल्याबमै नेपाली वैज्ञानिकको परिचय बनाएर काम गर्दै आइरहेका छन्। र, अहिले आफ्नो समूहको नेतृत्व गर्छन्। उनी सिकागोमै बसेर जेनेभामा रहेको युरोपेली ल्याबमा काम गर्छन्, अनलाइन सिस्टममा बसेर। युरोपेली ल्याबमा अहिले ४ वटा अनुसन्धानात्मक समूह खटिएको छ। एउटै समूहमा ३०/४० देशका वैज्ञानिक सम्मिलित हुने गर्छन्, जसमा ३/४ हजार फिजिसिस्ट, कम्प्युटर इन्जिनियर र इन्जिनियर खटिन्छन्।


उमेश्वरप्रसादको काम फर्मी ल्याबको ‘डेटा’ लिने हो। यसका लागि फिजिक्सको जानकारमात्र भएर पुग्दैन, इलेक्ट्रोनिक्स, सफ्टवेयर र डिटेक्टिभ्समा पनि उत्तिकै दखल हुनु आवश्यक छ। फर्मी ल्याबमै अढाई दसक लामो सोधपछि उमेश्वर यसमा पोख्त भइसकेका छन्।



अमेरिकामा अहिले उनको दैनिकी भनेकै सिकागोदेखि ३५ माइल टाढा बातभियास्थित करिब साढे ६ किलोमिटर क्षेत्रफल ओगटेको फर्मी ल्याबमा एकाबिहानै पुग्ने र प्रकृतिको नियम बुझ्न सोधमा व्यस्त भइहाल्ने।



प्रोटन र प्रोटन जुधाउँदा नयाँ आविस्कार के हुन्छ? र, यसलाई फेरि आफ्नो पुरानो ‘कम्पोनेन्ट’ मा कसरी राख्न सकिन्छ? मुख्यतः यिनै विषयमा सोध गर्दागर्दै उनलाई आफ्नो कपाल फुलेको याद छैन। ‘हाम्रो काम भनेको फिलोसोफिकल नलेज लिने हो। हामीले गरेको सोधबाटै आउँदो पुस्ताले धेरै फाइदा लिन सक्छ,’ ५८ वर्षे नेपाली वैज्ञानिक भन्छन्।



उमेश्वरप्रसाद यहाँ पहिलो नेपाली वैज्ञानिकका रूपमा प्रवेश गरेका थिए। उनी ल्याबको पुरानो र अनुभवी वैज्ञानिक मानिन्छन्। अहिले यो ल्याबमा उनीबाहेक ४ नेपाली वैज्ञानिक संलग्न छन्। उनकी श्रीमती रमी प्रधान पनि अमेरिकाकै एउटा सफ्टवेयर कम्पनीमा काम गर्छिन्।



सफलताको यात्रा
२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गर्दा उमेश्वरप्रसाद जोशी सेन्ट जेभियर स्कुलमा कक्षा १ पढ्दै थिए। उनका बाबु तत्कालीन कानुन राज्यमन्त्री होराप्रसाद जोशी पनि पक्राउ परे। त्यसपछि जोशी परिवारलाई घर चलाउन हम्मे पर्‍यो। त्यतिबेला उमेश्वरको स्कुलको शुल्क थियो, ९० रुपैयाँ। होराले आफ्नो जेठो छोरालाई जेभियरबाट निकालेर साधारण स्कुलमा हाल्ने निधो गरे।



एकपल्ट होराले जेलमा भेट्न गएका आफ्ना साथी (हाल मर्कन्टायलका मालिक) गोपाल राजभण्डारीलाई भनेछन्- ‘खर्च धान्न गाह्रो पर्‍यो। फादर मोरानलाई भनिदेऊ, म छोरालाई जेभियरबाट निकाल्छु।’



उनको यो प्रस्ताव लिएर गोपाल सेन्ट जेभियरका तत्कालीन प्रिन्सिपल मोरानकहाँ पुगे, तर उनले मान्दै मानेनन्। कारण थियो, उमेश्वरको पढाइप्रतिको लगाव। मोरानले जेलबाट निस्किएपछि होरासँग आफैंले कुरा गर्ने भन्दै गोपाललाई फर्काएका थिए। मोरानलाई उमेश्वरका बुबा होराका विषयमा एउटा कुरा राम्रैसँग थाहा थियो, ‘जे परेपनि होराले छोरालाई ‘फ्रि’ मा पढाउन मान्दैनन्।’ त्यसैले मोरानले अर्को जुक्ति निकाले। उमेश्वरको शुल्क ९० बाट घटाएर साधारण स्कुलमा जति नै ६० रुपैयाँमा झार्ने। यसपछि भने उनले स्कुल बदल्नुपरेन।



सन् १९९० मा फादर मोरान कामको सिलसिलामा सिकागो पुगेका थिए। त्यतिबेला उमेश्वरले आफू काम गर्ने ठाउँ र अफिस देखाउँदा फादर मोरान यति गर्वान्वित भएछन्, उनले फर्मी ल्याबबाट फर्किएपछि आफ्नो पुरानो चेलाको काँध थपथपाउँदै बधाई दिएका थिए।



‘त्यो मेरो जीवनकै अद्भुत क्षण थियो,’ आफ्नो बाबु होराप्रसाद जोशीको निधनका कारण दुई साताअघि काठमाडौं आइपुगेका नेपाली बैज्ञानिकले नागरिकसँग भने।



अमेरिका प्रवेश


सन् १९७३ मा बिएस्सीमा राम्रो अंक ल्याएर पास गर्दासम्म उमेश्वरलाई थाहा थिएन, अमेरिका कहाँ पर्छ। अन्य नेपालीजस्तै त्यतिबेला उनको इच्छा थियो, भारतको दिल्ली विश्वविद्यालयमा पढ्ने। उनले काठमाडौस्थित भारतीय दूतावासबाट दिल्ली विश्वविद्यालयमा ‘एमएस्सी’का लागि आवेदन भरेका थिए। तर, त्यतिबेला नेपालको ‘डिग्री’लाई त्यति मह