आइभरीकोष्टका राष्ट्रपति लरेन्ट बाग्बोलाई पश्चिमी अफ्रिकी राष्ट्रहरुको आर्थिक संगठन इकोवासले आफ्नो अडान त्याग्न आग्रह गरेको छ। यदि अडान नवदले कानुनी शक्तिको सामना गर्न समेत इकोवासले चुनौती दिएको छ।
गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा बाग्बोले आफूलाई नयाँ राष्ट्रपति घोषणा गरेपछि आइभरीकोष्टमा राजनीतिक संकट गहिरिदै गएको छ। गत महिनाको राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार अलासान क्वाटाराले स्पष्ट जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। तर आइभरी कोष्टको सम्बैधानिक परिषदले निर्वाचन परिणामलाई उल्टाउदै बाग्बोलाई नया राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि राजनीतिक संकट चुलिएको हो।
इकोवासमा १५ राष्ट्रहरुको सहभागिता रहेको छ। नाइजेरियाको अबूजामा इकोवासको सम्मेलनमा आइभरीकोष्टको वर्तमान राजनीतिक संकट समाधान गर्ने उद्देश्यले बाग्बो विरुद्ध विज्ञप्ती जारी गरेको हो। आइभरीकोष्टमा राजनीतिक संकटका कारण भड्केको हिंसामा परी २ सय जनाको मृत्यु भइसकेको छ।