– मुकुल श्रीवास्तव, -बीबीसी
जौनपुर – ‘भारतमा बेरोजगारी कुनै नौलो समस्या होइन। तर, यससँग लड्ने बाटो शिक्षा प्राप्त गरेमात्र पाउन सकिन्छ।’ यो कुनै नेताको विचार होइन, न कुनै सरकारी भाषण नै। यो एउटा यस्तो आम मानिसको आवाज हो, जसले परिश्रम गरेर आफ्नो बाटो आफैँ बनाएका छन्। रमेश थापा भारतको उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको एक होटेलमा वेटरको काम गर्छन् तर उनीसँग पीएचडीको डिग्री पनि छ। उनी दिनमा जौनपुरको एक महाविद्यालयमा आंशिक प्रवक्ताको रुपमा काम गर्छन्। बेलुका फेरि उही वेटरको काममा लाग्छन्।
पढाइमा रुचि
पाँच भाइ र एक बहिनी भएको परिवारमा रमेशको जन्म सिन्धुली जिल्लामा भएको हो। बाबु भक्तबहादुर निरक्षर किसान थिए। तर, आफ्ना छोराछोरीलाई भने पढ्नलाई सधैं प्रेरित गर्थे। गरिबीले पढाइमा ब्यवधान खडा गरे पनि रमेशको अठोटसामु कुनै समस्या टिक्न सकेनन्।
जेहेनदार भएकाले तत्कालीन नेपाल सरकारद्बारा रत्नबाल कोष छात्रवृत्ति पाएको उनको पढाइ कहिल्यै रोकिएन। यसबीच, लामो समयको बिरामीपछि रमेशको बुबाको निधन भयो। त्यससँगै नेपाल सरकारले प्रदान गर्दै आएको छात्रवृत्ति पनि बन्द भयो।
रमेश आफ्नो पढाइ जारी राख्न चाहन्थे तर आर्थिक अवस्था कमजोर भएकै कारण काम पनि गर्ने सोँच बनाए। नेपालमा कुनै राम्रो जागिर पाइएन। जागिरकै सिलसिलामा उनी भारतको वाराणसी आइपुगे।
संघर्ष
रमेश जब भारत आए, त्यतिबेला उनी दस कक्षामात्र पास थिए। आफ्नो ठूलो दाइ राजुको मद्धतले जौनपुरको एक होटेलमा वेटरको काम गर्न थाले। अनि सुरु भयो, उनको संघर्ष नयाँ दौड र नयाँ परिवेशमा। घरपरिवारबाट टाँढा अनि कमाएको केही रकम घरमा समेत पठाउनेपर्ने बाध्यता। उनी आत्तिएनन्।
जब उनी एक्लै हुन्थे, बुबाको यादले सताइरहन्थ्यो। उनै बुबा, जसले उनलाई पढ्नलाई हरदम प्रेरित गरे। यिनै कुरा सम्झेर उनी भन्छन्- ‘उहाँकै आशिर्वादले गर्दा नै यावत समस्याका बाबजुद पनि म यहाँ पुग्न सफल भएको छु।’
जौनपुरमा काम गर्दै उनी व्यक्तिगत परीक्षार्थीको रुपमा बाह्रको परीक्षा पास गरे। यो खुसीले उनको हौसला झनै बढेर गयो। दिनमा जब कामको दबाब कम हुन्थ्यो, उनी पढ्न बसिहाल्थे। जब बेलुका हुन्थ्यो अनि भोको पेटमा मुसा कुद्न थाल्थ्यो। त्यही भोक मेट्न उनी वेटरको पहिरनमा सजिन्थे। उसको लगन देखेर होटेलको म्यानेजर जितेन्द्र यादवले पनि उसको हौसला बढाइरहन्थे।
बीए र एमए गरेपछि उसले शोध विद्यार्थीको रुपमा जौनपुरकै वीरबहादुर सिंह पूर्वाञ्चल विश्वविद्यालयको टीडी महाविद्यालयमा ग्रामिण सामाजिक विकासमा उद्यागको भूमिका विषयमा शोध विद्यार्थीको रुपमा भर्ना भए।
सपना
वेटर र शिक्षकको रुपमा दोहोरो दायित्व पूरा गर्नेबारे रमेशको धारणा स्पष्ट छ। रमेश विगत दुई वर्षदेखि आंशिक प्रवक्ताका रुपमा काम गरिरहेका छन्। जहाँ उनले तीन हजार रुपियाँ पारिश्रमिक पाउने गर्छन् ।
जब उनकै कुनै विद्यार्थी होटेलमा खाना खान आउँछन्, त्यतिबेला उनी ग्राहककै रुपमा सम्मान गर्छन्। यो कुरा अलग छ कि उनका विद्यार्थीले होटलमा पनि त्यति नै सम्मान गर्छन्, जति विद्यालयमा गर्छन्।
भविष्यको योजनाबारे रमेश भन्छन्- ‘अब छिट्टै नै आमाको आशिर्वाद लिन नेपाल जानेछु। अनि शिक्षण पेसामा आफ्नो ठाउँ खोज्नेछु।’
विश्वविद्यलयका डा. आरएन त्रिपाठीले] रमेशको पढाइप्रतिको लगाव र शिक्षक बन्ने चाहना पूरा गराउन पीएचडी शोध निर्देशन गराएको बताए।