आइभरी कोष्टका राष्ट्रपति लरेन्ट बाग्बोले पश्चिमी अफ्रिकी राष्ट्रका नेताहरुको आग्रहलाई अस्वीकार गरेका छन्। उनले विवादित राष्ट्रपतिय निर्वाचनको परिणामको विषयलाइ लिएर आफ्नो नेतृत्वको सरकारलाइ ढाल्ने कोसिस गरिएमा मुलुकमा गृहयुद्ध भड्कने चेतावनी समेत दिएका छन्।
बाग्बोलाइ पश्चिमी अफ्रिकी राष्ट्रहरुको आर्थिक संगठन इकोवासले आफ्नो अडान त्याग्न वा कानुनी शक्तिको सामना गर्न चुनौती दिएपछि उनको सो प्रतिक्रिया आएको हो।
गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा बाग्बोले आफूलाइ नयाँ राष्ट्रपतिको घोषणा गरेपछि आइभरीकोष्टमा राजनीतिक संकट भएको हो। राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार अलासान ओटाराले स्पष्ट जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। तर आइभरी कोष्टको संबैधानिक परिषदले निर्वाचन परिणामलाई उल्टाउदै बाग्बोलाइ नयाँ राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि त्यहाँ राजनैतिक संकट चुलिएको हो।
उता ओटारालाइ समर्थन गर्ने राजनैतिक दलहरुले आजबाट बाग्बोलाई दवाव दिने उद्देश्यले आम हडतालको घोषणा गरेका छन्।