अफ्गानिस्तानको सिमा क्षेत्र नजिकै पाकिस्तानी भूमिमा गरिएको अमेरिकी चालकरहित विमानको क्षेप्यास्त्र आक्रमणमा १८ जना शंकास्पद विद्रोही लडाकू मारिएका छन्।
पाकिस्तानी गुप्तचर अधिकारीहरुले आक्रमण नर्थ वजिरिस्तानको आदिवाशी क्षेत्रमा भएको बताएका छन्। आक्रमण भएको क्षेत्र तालिवानी विद्रोहीहरुको पकड क्षेत्रको रुपमा रहेको बताइएको छ। आक्रमणका कारण केही गाडीहरु पनि क्षतिग्रस्त भएका छन्।
गाडीहरुमा ठूलो परिमाणमा हतियार रहेको हुनाले वाहनलाइ लक्षित गरी आक्रमण गरिएको बताइएको छ। यो वर्ष मात्र पाकिस्तानी भूमिमा अमेरिकाले १ सय १० पटक चालकरहित विमानद्धारा क्षेप्यास्त्र आक्रमण गरिसकेको छ।