क्यानडा: हवाईजहाज चढ्दा वृद्ध तेह्र घन्टाको यात्रापछि ओर्लंदा एक्काइस वर्षीय तन्नेरी


 

निर्मल श्रेष्ठ 

 

हङकङ  – संचारमाध्यमहरुले जनाए अनुसार हवाईजहाज चढ्दा वृद्ध रहेका एक मानिस करिब तेह्र घन्टाको यात्रापछि ओर्लंदा एक्काइस वर्षीय तन्नेरी भए । चलचित्रमा मात्र देखिँदै आएजस्तो दृश्य वास्तविकतामै हुन पुग्यो ।

एक चिनियाँ युवक हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर क्यानडाको उडान राति १२ बजेर १८ मिनेटमा उडे । उड्दा उनी वृद्ध अमेरिकी नागरिकको वेशमा थिए । तर क्यानडाको भानकुभर विमानस्थलमा ओर्लंदा बीसवर्षे तन्नेरी भए । ओर्लनुअघि उनले विमानभित्रको शौचालयमा नकाब उतारी अध्यागमनसमक्ष आफूलाई शरणार्थीका रूपमा स्वीकार्न दबाब दिएको बताइएको छ ।

सुरक्षा र सुविधाका दृष्टिले संसारकै उत्कृष्टमध्ये मानिएको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका दर्जनौं सुरक्षा घेरालाई तोड्दै उनी सजिलै विमानसम्म पुग्न सफल भए । स्वरूपै बदलेर उडान गरेको यो घटना हङकङमै पहिलो भएको अधिकारीहरूले बताएका छन् । विमान कर्मचारीले उनलाई सम्बन्धित एयरलाइन्सले उपलब्ध गराउने एक विशेष कार्डका आधारमा बोडिङ पास दिएका

थिए । अध्यागमनका अधिकारीले उनको कीर्ते रूप थाहै पाएनन् । आफूलाई वृद्ध देखाउन युवकले सिलिकोन माक्स लगाएका थिए ।

‘घटनाले आतंककारीले जस्तोसुकै दुर्घटना गराउन सक्नेतर्फ सचेत रहन ठूलो पाठ सिकाएको छ,’ सेप्टेम्बर ११ मा अमेरिकामा भएको भयानक आतंककारी घटनालाई समेत यसले स्मरण गराएको बताउँदै एक स्थानीय दैनिकले उल्लेख गरेको छ ।

घटनापछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रबन्धमा कडाइ गरिएको छ । सन् १९९८ देखि सञ्चालनमा आएको विमानस्थल चौबीस घन्टा खुला रहन्छ । यहाँ प्रतिदिन दर्जनांै विमानले विश्वका करिब एक सय पचास सहरमा उडान भर्छन् । विमानस्थलभित्र साठी हजार कर्मचारी छन् ।

चीनस्थित फुजियान प्रान्तका ती युवकले शरणार्थीका लागि आवेदन दिएको बताइएको छ । तर वृद्ध अमेरिकी नागरिकका रूपमा जहाज चढेका उनलाई शरणार्थीको दर्जा दिने कि नदिने भन्नेबारे क्यानडियाली अदालतमा छलफल भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विमान चढ्दा र ओर्लंदा फरक नागरिकको हैसियत रहेकाले घटनालाई कानुनी रूपमा व्याख्या गर्न समस्या परेको छ । अक्टोबर २९ मा क्यानडा पुगेका युवक हिरासतमा छन् । उनको पूरा विवरण गोप्य राखिएको छ ।