ब्रजिलका भूतपूर्व राष्ट्रपति लूइज शिल्भाकी उत्तराधिकारी डिल्मा रौसेफले मुलुककै पहिलो महिला राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेकी छिन्। ६३ वर्षीया रौसेफले यसअघि लूलाको क्याबिनेट प्रमुखको रुपमा लामो समयसम्म सेवा गरिसकेकी छिन्।
शनिवार राजधानी ब्रासिलियास्थित ब्रजिलको कंग्रेसले उनलाई राष्ट्रपतिको रुपमा चयन गरेको हो। ब्रासिलियामा ब्यापक वर्षा भैरहेको भएता पनि रौसेफका समर्थकहरुले बर्षाको प्रवाह नगरी सडकमा आएर उनको पक्षमा नाराबाजी गर्दै खुसीयाली मनाएका छन्। वर्षाका बाबजुद ७० हजार समर्थकहरुका साथमा गाडीमा बसेर शुभकामना ग्रहण गरेपछि उनले सपथ ग्रहण गरेकी हुन्।
राष्ट्रपतिको रुपमा राष्ट्रको लागि पहिलो सम्बोधन गर्दै रौसेफले आफु ब्रजिलका जनताको सेवामा समर्पित हुने बताइन्। उनले सपथपछि गरेको सम्बोधनमा ब्रजिलका सवै नागरिकलाई आफ्नो नेतृत्वको शासन ब्यवस्थाले समेट्ने उल्लेख गरिएको छ। उनले विषेशगरी विपन्न र कम आयस्रोत भएका नागरिकको जीवनस्तर उकास्न सरकारले नयाँ कार्यक्रम र नीति ल्याउने प्रतिबद्धता समेत प्रकट गरेकी छिन्। यसका अतिरिक्त रौसेफले वातावरणको संरक्षण, स्वास्थ्य सेवामा सुधार र प्रादेशिक विकासमा आफ्नो सरकारले ध्यान दिने बताएकी छिन्।