अर्घाखाँचीका कृषकहरु बाख्रापालन व्यवसायमा आकर्षित

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाका कृषकहरु बाख्रापालन व्यवसायमा आकर्षित भएका छन् । थौरे मेहनत र कम लगानीबाट पनि मनग्य आम्दानी हुन थालेपछि यहाँका कृर्षकहरु बाख्रा पालनमा आकर्षि्रत भएका हुन् ।

 

जिल्लाको ठाडा सितापुर सुर्वणखाल जलुके जुकेना सिद्दारा पटौटी सिमलपानी धनचौर मैदान गोखुङा हंशपुर गाविसमा व्यवसायिक रुपमा बाख्रा पालिदै आएको छ । बाख्रापालनबाट यहाँका कृषकहरुले लाखौ रुपैया आम्दानी गर्ने गर्छन् । अर्घाखाँचीका यी गाविसका अतिरिक्त अन्य गाविसमा पनि कृषकहरुले बाख्रापालन व्यवसायलाई जोड दिन थालेका छन् । धेरै बाख्रा पालेर बन जगंलमा लगेर चराउन नपाउनेहरुले पनि २-३ वटा बाख्रा बधुवाको रुपमा घरमै पनि पाल्दै आएका छन् ।

 

पछिल्लो समयमा सदरमुकाम सन्धिखर्क र आसपासका इलाकामा पनि बाख्रा पाल्ने प्रचलनमा व्यापक विस्तार भएको छ । व्यापार व्यवसाय गर्ने पसले र सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले पनि घरको छेउमा खोर बनाएर एउटा न एउटा बाख्रा पालेको पाइन्छ । एउटा बाख्रो वर्षमा दुई पटक व्याउने र वर्षमा २-३ वटासम्म खसी बिक्री गर्दा १२ हजारदेखि ३० हजार रुपैयासम्म मूल्य पर्ने गरेको बाख्रा व्यवसायीहरु बताउँछन् । घरमा १-२ वटा मात्र बाख्रा पालन गर्दा पनि करेसाबारीमा राख्नका लागि प्रशस्तै मल हुने भएकाले आफूहरुले आपुनो परिवारका लागि आवश्यक पर्ने हरियो तरकारीमा पनि आत्म निर्भर भएको सदरमुकामवासीहरु बताउँछन् । तरकारी केलाएका बोक्रा र घरमा बँचेकुचेको खाने कुराको भरमा मात्र पनि बाख्रा पालेको उनीहरु बताउँछन् ।

 

जिल्लाको सन्धिर्खक किमडाँडा वाङ्ला बल्कोट केरुङा चिदीका छत्रगाज अर्घातोष भगवती र मरेङका कृर्षकहरुले उन्नत जातका बाख्रा पालन गरी भरपुर रुपमा फाइदा लिएको भएपनि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएको दुर्गम ठाउँका कृर्षकहरुले लगानी र मेहनत अनुसारको प्रतिफल पाउनका नसेको कृर्षकहरुको भनाइ छ । गाउँमा पालिएका अधिकांश बाख्राहरु खरिजातको भएको र यहाँ उन्नत जातको बोकाको अभावमा नयाँ जन्मेने पाठापाठी साना र किचिला भएकाले आम्दानी कम हुने कृर्षकहरु बताउँछन् ।

 

जिल्ला पशु सेवा कार्यालयले प्रत्येक वर्ष बाख्रा तथा पशु विस्तार सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको भएपनि ती कार्यक्रमबाट लक्षित समुदायको माग पूरा नभएको कृषकको गुनासो छ । कृषि र पशुसेवा कार्यालयका कर्मचारीहरु गाउँ र किसान मुखी भएर कृर्षकहरुलाई आधुनिक पशुपालन र कृषि प्रणालीतर्फ डोर्याउनुको साठो बजार गोष्ठी र भत्तामुखी भई सदरमुकाममा मात्र थन्किदा आपुनो व्यवसाय धरापमा परेको कृषकहरुको गुनासो छ ।

 

अर्घाखाँचीमा अथाह वनसम्पदा भएको र वनमा पोषिलो घाँस तथा बाख्रा पालनका लागि उपयुक्त भु-बनोट र हावापानी भएको जिल्ला मानिन्छ । १० वर्ष पहिलेसम्म तराईका जिल्लाबाट खसीको आयात गरिने अर्घाखाँचीमा अहिले मासुका लागि अन्त खोज्न जानु नपर्ने व्यापारीहरु बताउँछन् । अर्घाखाँची अहिले मासुका लागि आत्मनिर्भर बनेको छ ।- रासस

अन्य समाचारहरु