अमेरिकाको कट्टर आलोचक मानिने इराकका निर्वासित शिया नेता मुक्तादा अल सदर स्वदेश फिर्ता

तीन वर्षदेखि इरान निर्वासनमा रहदैै आएका अमेरिकाको कट्टर आलोचक मानिने इराकका शिया सम्बद्ध नेता मुक्तादा अल सदर स्वदेश फिर्ता भएका छन्।

 

लामो राजनीतिक गतिरोध अन्त्य गर्दै गत साता गठन भएको नयाँ सरकारमा शिया गठबन्धन सामेल भएपछि अल सदर स्वेदश फिर्ता भएका हुन्। दक्षिण बग्दादका शिया सम्बद्ध नेता मजान अल सादीले पनि अल सदर आफ्नो निवास हनानामा फिर्ता भएको पुष्टि गरेका छन्। गृह सहर फिर्ता लगत्तै  अल सदरले आफ्नो बुबा इमाम अली स्राइनको समाधिस्थल भ्रमण गरेको बताइएको छ। सन् दुई हजार आठमा पक्राउ पुर्जी जारी गरिएपछि उनी इरान भागेका थिए।

 

इरानको धार्मिक सहर क्यूममा रहँदा उनले धार्मिक शिक्षा प्राप्त गरेको खबरमा जनाइएको छ। अल सदरको आगमनले नुरी अल मलिकी नेतृत्वको सरकारलाई सहज हुने अनुमान गरिएको छ।  सदर आगमन इराकको राजनीति निर्णायक मोडमा पुगेको समयमा भएको विश्लेष गरिएको छ। तर, उनी कति समयसम्म इराकमा रहन्छ भन्ने स्पष्ट भइसकेको छैन।