जापानी विद्यार्थीको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठे विद्यालय भवन निर्माण

– वीरेन्द्र केसी

 

सितापुर, अर्घाखाँची – जापानी विद्यार्थीको आर्थिक सहयोगमा यहाँको एक विद्यालयको भवन निर्माण गरिएको छ । भवन निर्माणपछि विद्यार्थीहरुलाई सुविधा भएको छ ।

 

जापानको कायटो कलेजका प्राफेसर सहपाठी विद्यार्थीहरुको आर्थिक सहयोगमा जिल्लाको सितापुर स्थित सरस्वती माविको भवन निर्माण भएको हो । जापानको कलेजका विद्यार्थीहरुले चन्दा संकलन गरेर दिएको रकमले विद्यालयको पाँच कोठे पक्की भवन बनेको हो ।

 

एक वर्ष अघि जापानको उक्त कलेजबाट चार जना विद्यार्थी विद्यालयमै आएर व्यवस्थापन समितिलाई १३ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । जापानका विद्यार्थीको उक्त रकम सितापुरका स्थानीय समाजसेवी राजेन्द्र केसीबाट ३ लाख ७६ हजार २ सय ७२ चन्दा र गाविसको २ लाख १० हजारको थप आर्थिक सहयोगबाट पाँच कोठे पक्की भवन निर्माण कार्य सम्पन्न गरिएको छ । चन्दा संकलनबाट जम्मा भएको रकमले विद्यालयको कोठा थपिएपछि धुलो सहितको कच्ची भवनमा कोचाकोच गरेर पढनबाट विद्यार्थीहरु मुक्त भएका छन ।

 

भवन निर्माणका लागि कतैबाट केही स्रोत थिएन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबर्दन थापाले भने आर्थिक सहयोगबाट ठुलो राहत भयो । कच्ची सहित साँधुरोकोठाबाट विद्यार्थीहरुलाई नयाँ भवनमा सारिएको छ । विद्यालयमा आरसीसी सहितको अझै छ कोठा निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको विद्यालयका प्रअ यदु कास्यपले बताए ।

स्थानीय अभिभावक टेक बहादुर क्षेत्रीका अनुसार विद्यालयको भवन निर्माण गर्नको लागि यही विद्यालयका पुर्व विद्यार्थी बालेन्द्र केसीको पहलमा जापानका विद्यार्थीहरुले आर्थिक सहयोग पुर् याएका हुन । हाल जापानको उक्त कलेजमा अध्ययनरत केसीलाई अभिभावकले आर्थिक सहयोगका लागि आग्रह गरेका थिए । एक वर्ष अघि जापानका चार प्रोफेसर विद्यालयमा आएर उक्त रकम दिएको क्षेत्रीले बताए । जीर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माणको लागि शिक्षा कार्यालय जिविस लगायतलाई बारम्बार अनुरोध गर्दा वेवस्ता गरेपछि केसीलाई जापानबाट सहयोग जुटाईदिन आग्रह गरेपछि सहयोग भएको क्षेत्रीको भनाई छ । भवन निर्माण पछि स्थानीय अभिभावक र विद्यार्थीमा खुसीयाली छाएको छ ।



अन्य समाचारहरु