लाखौ सूडानीहरु उत्तर र दक्षिण सुडानको विभाजनको फैसला गर्न जनमत संग्रहमार्फत मतदान गरिरहेका छन भने एक हप्ता लामो मतदान तालिका अनुसार आईतवार भएको पहिलो दिनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीहरुले ६० प्रतिशत मतदाताहरुले मताधिकारको प्रयोग गर्ने जनाएको छ। जनमत संग्रहको लागि कुल ३९ लाख मतादाताहरुले आफ्नो मताधिकारको प्रयोग गर्ने छन्।
सुडानको विभाजनले उत्तरी र दक्षिणी सूडानको राजनैतिक भविष्य सुनिश्चित हुने एकथरीको विश्लेषण छ भने अर्काथरी विश्लेषक भन्छन् जनमत संग्रहले सुडानको अस्थित्व संकटतर्फ उन्मुख गर्नेछ। जनमत संग्रहमार्फत दक्षिणी सूडान नयाँ राष्ट्र बन्न सके त्यहाँको प्रमुख सहर जूबा नयाँ राजधानी बन्नेछ।
जनमत संग्रहमा कुनै पनि प्रकारको हिंसा हुन नदिन मुख्य स्थानहरुमा प्रहरी र सैनिक गरी ६० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। यसैविच सूडानमा भड्केको पछिल्लो हिंसामा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ।