काठमाडौँ – संचारमाध्यमहरुले जनाए अनुसार नेपाली भाषाको वर्णविन्यास, हिज्जे प्रणाली एवम् व्याकरणका आधारभूत कुरामा विज्ञहरुका साझा धारणाका साथ मानक निर्धारण गरी बृहत् नेपाली शब्दकोश परिमार्जन गरिने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कुलपति वैरागी काइँलाले आगामी पुस २६ देखि २८ गतेसम्म यही सन्दर्भमा तीनदिने नेपाली भाषा सङ्गोष्ठी-२०६७ आयोजना गर्न लागिएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गर्ने सो सङ्गोष्ठीमा विश्वविद्यालय, प्रकाशनगृह, पत्रिका समूह, सञ्चार समूहलगायत भारतका सिक्किम, दार्जिलिङ, आसाम, बनारस, देहरादुन, उत्तरबङ्गाल विश्वविद्यालयको नेपाली विभाग, बनारस हिन्दु विश्वविद्यालयको नेपाली विभागका विज्ञको सहभागिता रहनेछ । सङ्गोष्ठीमा नेपाली भाषा विज्ञहरुबाट १० वटा कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी गराउनुभयो ।
सो अवसरमा प्रा डा टङ्क नेउपाने, प्रा डा हेमाङ्गराज अधिकारी, प्रा डा माधवप्रसाद पोखरेल, उत्तरबङ्गाल विश्वविद्यालय भारतका पुस्कर पराजुली, डा जीवेन्द्रदेव गिरी, प्रा डा चूडामणि बन्धु, प्रा डा तारानाथ शर्मा, कुन्दन अर्याल, प्रा डा योगेन्द्रप्रसाद यादव र डा बद्रीविशाल भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
नेपाली भाषा नेपालका सम्पूर्ण जातजातिको सम्पर्क भाषा, सरकारी कामकाजको भाषा र विदेशमा रहेका नेपालीको जातीय पहिचानको विषय भएकाले पनि सङ्गोष्ठीको विशेष महत्व रहेको उपकुलपति उप्रेतीले बताउनुभयो ।
विसं. २०४० मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रथमपटक बृहत् नेपाली शब्दकोश प्रकाशनमा ल्याएको थियो ।
यो नै नेपाली भाषाको मानक शब्दकोश रहेको र यसलाई छ वटा संस्करणमा प्रकाशित गरिसकिएको र सातांै संस्करणलाई पुनःमुद्रण गरी प्रज्ञा प्रतिष्ठानले आजै प्रकाशित गरेको वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपाली भाषामा हाल प्रचलनमा आएका धेरै शब्दलाई उपरोक्त शब्दकोशले समेट्न नसकेकाले सो कोशलाई अद्यावधिक गर्नुअघि नेपाली भाषामा प्रचलित वर्णविन्यास, हिज्जे एवम् कोशको प्रवृष्टि निर्धारण आदि कुरामा वस्तुनिष्ठ मानक निर्धारण गर्न लागिएको हो ।