इरानमा भएको यात्रुवाहक विमाना दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्। इरानी खबर संस्था इर्नाका अनुसार स्थानिय समयअनुसार आइतवार बेलुकी पौने ८ बजे सो दुर्घटना भएको थियो। इर्नाले विमानमा कुल १ सय ५ यात्रु रहेको जनाएको छ।
राजधानी तेहरानबाट ओरुमियेह शहरका लागि उडेको बिमान अवतरण गरेलगत्तै दुर्घटना भएको थियो। अधिकारीहरुले खराब मौसमका कारण विमान दुर्घटना भएको जनाएका छन्। उद्धार अभियानमा हिमपातका कारण कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन्।
विमान दुर्घटना भएको स्थानमा ७० सेन्टिमिटर बाक्लो बरफ जमेको छ। दुर्घटना भएको सो विमान ४० वर्षभन्दा पुरानो रहेको बताइएको छ। अमेरिकामा बनेको सो विमान सन् उन्नाइस सय चौरासीदेखि नै उत्पादनमा आउन छाडेको थियो। दुर्घटना स्थल तेहरानबाट ७ सय किलोमिटर उत्तरमा पर्दछ। इरानी रेड क्रिस्सेन्टले घाइते यात्रुहरु मध्ये अधिकाशंको अवस्था गम्भिर रहेको जनाएको छ।