अर्घाखाँचीका ग्रामिण महिलामा आङ्ग खस्ने समस्या

-बिनोद गैरे


सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश महिलाहरु आङ खस्ने रोगबाट पीडित भएका छन् । आर्थिक विपन्नता अन्धविश्वास अज्ञानता र कु-संस्कारका कारण यहाँका महिलाहरु पाठेघर आङ्ग खस्ने रोगबाट पीडित बनेका हुन् ।


जिल्लाका सबै गाविसहरुमा आङ्ग खस्ने रोगबाट पीडित महिलाहरु रहेका छन् । पाठेघर खसेका महिलाहरु मध्ये अधिकांश महिलाहरु गरिब तथा विपन्न परिवारका छन् । गरिबहरु मध्ये पनि ५० प्रतिशत भन्दा बढी महिलाहरु दलित परिवारका रहेका छन् ।


सुत्केरी भएको समयमा आराम नगर्ने कम उमेरमै गर्भवती हुने सुत्केरी भएको समयमा पोषण यु्क्त खानेकुरा खान नपाउने सुत्केरी भए लगत्तै यौन सम्पर्क गर्ने गह्रौ भारी बोक्ने खोकी जस्ता सामान्य रोगहरुको पनि समयमै उपचार नगरी बल गर्नेगरी खोक्ने र यौनाङ्गहरुको सरसफाईमा ध्यान पुर् याउन नसक्दा पाठेघर खस्ने रोग लाग्ने चिकित्सकहरुको भनाई छ ।


अविवाहित महिलाहरुले पनि महिनावारी भएको समयमा आराम नगरी भारी बोक्ने गह्रौ सामान उठाउने तथा रजश्वला भएको समयमा प्रयोग गरेका लुगाहरु राम्रोसँग सफा नगरी प्रयोग गर्दा पनि यो रोग लाग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका मेडिकल अधिकृत डाक्टर प्रदिप अधिकारीले बतानुभयो ।


जिल्लाको बागीँको वाडनं ५ बस्ने माया पाण्डेले पाठेघर खसेको ७ बर्षपछि उपचार गराएको बताउनुभयो । ४० बर्षको उमेरमा पाठेघर खसेको बताउने उहाँले बाहिर भन्दा इज्जत जान्छ भनेर आजसम्म निक्कै कष्ट सहेर बसेकी थिएँ अप्रेसन पछि नयाँ जीवन पाएको खुसी व्यक्त गर्नुभयो ।


आरुखोरकी तुलसा खत्रीले पाठेघर खसेका विरामीलाई घर परिवार र समाजले समेत नराम्रो दृष्टिले हेरेको पीडा आजसम्म पनि ताजै रहेको बताउनुभयो । शारीरिक पीडा त थियो नै मानसिक पीडा समेत सहनु पर्दा बाँचौकी मरौ दोधारमा परेकी थिए उपचार पछि पहिले जस्तै ह्ष्टपुष्ट रहेको उहाँको भनाई छ ।


पाण्डे र खत्री त केवल प्रतिनिधी पात्र मात्र हुन् । अर्घाखाँची जिल्लामा पाठेघर खसेर पीडादायी जीवन विताउने महिलाहरुको संख्या सयौं रहेको छ । रोगको उपचार हुने सम्भावना रहँदा रहँदै पनि उपचार प्रति ध्यान पुर् याउन नसक्दा ग्रामीण क्षेत्रका महिलाहरुले निकै ठूलो सास्ती ब्यहोर्नु परेको छ ।


गुप्त रोग लागेका महिलाहरु समाज स्वयं आफ्नो परिवार र लोग्ने समेतबाट अपहेलित र बहिष्कृत हुने डरले आफूलाई लागेको रोग धरै लामो समयसम्म लुकाउन खोज्दा कतिपय महिलाहरु मृत्युको मुखमा समेत पुग्ने गरेको चिकित्सकहरुको भनाई छ ।


ग्रामीण क्षेत्रका महिलाहरुलाई सचेत पार्नुका साथै गाउँ गाउँमा निःशुल्क अप्रेसन शिविरहरु साचालन गरी उपचार गर्ने ब्यबस्था मिलाएमा महिलाहरुले रोगबाट मुक्ति पाउने स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।





अन्य समाचारहरु