काठमाडौं – पर्यटन वर्ष शुभारम्भको एक दिन अघि अमेरिकाले नेपाल भ्रमणमा खतरा रहेको भन्दै सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई सचेत गराएको छ ।
सरकारले १५ जुन २०१० को ‘ट्राभल एड्भाइजरी’ अद्यावधिक गर्दै भ्रमणबारे योजना बनाउने आफ्ना नागरिकहरुलाई नेपालको सुरक्षा सचेत रहन आग्रह गरेको छ । उसले नेपालमा जुनसुकै बेला अशान्ति हुन सक्ने र राजनीतिक प्रदर्शन हुन सक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख गरेको छ ।
सरकारले भने पर्यटन वर्ष २०११ मा नेपालमा १० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । शुक्रबार राजधानीमा एक भव्य कार्यक्रम गरी पर्यटन वर्ष शुभारम्भको तयारी गरिरहँदा अमेरिकी सरकारको ‘ट्राभल एड्भाइजरी’ले प्रभाव पार्ने सम्भावना छ ।
नेपालमा पहिलेभन्दा सुरक्षामा सुधार आए पनि पूर्ण विश्वस्त हुन सक्ने अवस्था भने नरहेको ‘एड्भाइजरी’मा लेखिएको छ ।