काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पाँच वटा सुरक्षा घेराहरुलाई तोड्दै बिना भिसा २९
वर्षीय प्रकाश गुरुङले नेदरल्यान्डसको आम्सटर्डम पुगेर त्यहाँ पाँच महिना हिरासतमा बसेर स्वदेश फर्किएको दावी गरेका छन्। अध्यागमन विभागका महानिर्देशक नारायण सञ्जेल यसलाई असंभव भन्छन् तर गुरुङ आफ्नो फिंगरप्रिन्ट, शरणार्थीको लागि दिएको आवेदन र बयान नेदरल्यान्डसमा रहेकोले दूतावासमार्फत् मगाएर अनुसन्धान गर्न चुनौति दिन्छन्।
भिसा र कागज पत्रविनै प्रकाश त्रिभुवन विमानस्थलबाट आर्केफ्लाइको विमान हुंदै आम्सटर्डम पुगेको घटना जति अपत्यारिलो छ, त्यतिकै रोमाञ्चक पनि। उनले आम्सटर्डमको हिरासतमा भोगेका पीडा उत्तिकै दुखदायी छन्। शरणार्थी बनेर युरोपमा बस्न पाइने लोभमा नेदरल्यान्डसको आम्सटर्डम पुगेका थिए उनी। तर काठमाडौं फर्केपछि उनको दैनिकी युरोप पठाउन सक्रिय समूहलाई बुझाएको साढे ६ लाख रुपैयाँ उठाउन प्रहरी कार्यालय धाउनु बनेको छ।
मंसिरमा आइपुगेका उनले आफ्नो रकम फिर्ता नपाएपछि पुस ११ गते काठमाडौं प्रहरीमा युरेसिया म्यान पावरका अग्नि पौडेल विरुद्ध उजुरी दिएका थिए। उनको उजुरीबाट जोगिन पौडेलले पुनरावेदन अदालत पाटनबाट तत्काल पक्राउ नगर्न निशेधाज्ञा जारी गराएका छन्। प्रकाश सुन्धाराको गेष्ट हाउसमा बसेर रकम उठाउन प्रहरी कार्यालय धाइरहेका छन् ।
पौडेलविरुद्ध गुरुङले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसरले अनुसन्धान सुरु गरेको छ। उजुरीको प्रकृतिका आधारमा मानव बेचबिखन विरुद्धको कानुन आकर्षित हुने परिसर मुद्धा शाखा प्रमुख लालमणि आचार्यले बताए।
पोखरा निवासी गुरुङका आफन्तले नेदरल्याण्ड्समै बस्ने आफन्तले युरोप पुग्ने यो उपाय बताएपछि उनी बैशाखमा काठमाडौंको बागबजारस्थित युरेसिया म्यानपावर पुगे।
म्यानपावरका पौडेलको नाम र सम्पर्क विवरण उनले नेदरल्याण्ड्सबाटै पाएका थिए।
प्रारम्भमा सहजै भिसा पाइने आश्वासन दिए पनि उनको यात्रा विना भिसा सुरु भयो। ‘सुरुमा कानुनी रुपमै पठाउने भन्ठानेको थिए,’ उनले नागरिकसँग भने, ‘पौडेलले सबै कागजपत्र मिलाउँछु भनेकाले पत्यार पनि लाग्यो।’
गुरुङका अनुसार पौडेलले सेवा शुल्क भन्दै साढे ६ लाख रकम लिएर बैशाख १३ गते बेलुका राहदानीसहित विमानस्थल आउन अह्राए। उनी सामान प्याक गरेर बेलुका सात बजेतिर विमानस्थल पुगे।
प्रकाशजस्तै वीरबहादुर गुरुङ, अमिर गुरुङ, रेशम गुरुङ र युवराज गुरुङसमेत विमानस्थल पुगेका थिए।
प्रकाशका अनुसार विमानस्थल पुगेसम्म उनीहरूको राहदानीमा भिसा लागिसकेको थिएन। ‘भिसा खोइ?’ भनेर सोध्दा पौडेलले ‘भिसाको किन चिन्ता? जान पाए भएन?’ भन्दै उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल छिराए।
पौडेलले पाँचैजनालाई किङफिसर एयरलाइन्सको बोर्डिङ्ग र टिकट दिएर विमानस्थल सुरक्षाकर्मीलाई दिल्ली जान लागेको भन्न सिकाएका थिए। सोही अनुसार उनीहरूको ब्यागमा किङफिसर एयरको ट्याग लगाइएको थियो।
पौडेलकै निर्देशनमा उनीहरूले विमानस्थल सुरक्षाकर्मी, अध्यागमनका कर्मचारीलाई दिल्ली जान लागेको बताउँदै प्रहरी, अध्यागमन सुरक्षाकर्मीलाई पार गर्दै यात्रु प्रतिक्षा कक्षमा पाँचै जना पुगे।
‘डर लागिरहेको थियो, तर के गर्ने पैसा फसिसकेकाले उनले जे भन भने त्यही भन्यौं,’ उनले भने ‘उनी अगाडि अगाडि गएर कुरा मिलाउँथे, प्रहरी र अध्यागनका कर्मचारीले यसो हेरे जस्तो गरेर छाडिदिन्थे।’
उनका अनुसार, अन्तर्राष्ट्रिय उडानको यात्रु प्रतिक्षालय पुगेपछि पौडेलले राहदानी सौचालयमा लगेर च्यातेर फ्याक्न लगाएका थिए। त्यसबीचमा उनीहरूको ब्यागमा रहेको किङफिसर एयरको ट्याग समेत निकालिएको थियो।
विमान उडानका लागि तयार भएको जानकारी आएपछि अरु यात्रुहरु टिकट बोकेर विमानतिर लम्किदासम्म उनीहरूको हातमा टिकट आएको थिएन। ‘अब फसियो जस्तो लागेको थियो, तर पौडेल केही समयमै हातमा पाँचवटा टिकट लिएर आए,’ प्रकाशले भने।
पाँचवटै टिकट डच नागरिकको नामका थिए। उनको टिकटमा पारसोल विस्लरको नाम लेखिएको थियो र सिट नम्बर थियो २६ जी।
गेटमा एक सुरक्षाकर्मी टिकट जाँच गर्दै बसेका भए पनि पौडेलले पाँचै जनाको टिकट एकैचोटी देखाएर विमानस्थलभित्र छिराएको उनले बताए। बाहिर पुगेलगत्तै हतार-हतार बसमा चढे, अनि सहजै आर्के विमानमा उनीहरू पुगे।
आर्के विमान बहराइनमा रोकिएको थियो। विमान आम्सर्टडम पुग्दा बिहानको ६ बजेको थियो। आम्सटर्डम विमानस्थलको अध्यागमनमा पुगेपछि पाँचै जनाले नेपालमा आफूहरू असुरक्षित रहेकाले भागेर आएको दावी गर्दै शरणार्थीका रुपमा बस्न दिन माग गरे।
प्रकाशका अनुसार अध्यागमन कर्मचारीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछपछि विमानस्थलभित्रै रहेको शरणार्थीसम्बन्धी अनुसन्धान गर्ने सरकारी केन्द्रमा पठाए। पौडेलले भिसा बेगरै नेपालबाट पठाएका थप २ जना नेपाली पनि त्यहाँ भेटिएका थिए।
डच अधिकारीहरूले उनीहरुलाई नेपालबाट भाग्नु परेको कारणबारे तीन दिनसम्म निरन्तर सोधपुछ गरे। प्रत्येक पटक अनुसन्धान अधिकृत परिर्वतन हुन्थे। तर प्रश्न एकै सोध्थे।