ब्रजिलको दक्षिण पुर्वी इलाकामा बाढी र पहिरोका कारण मृत्यु हुनेका संख्या पाँच सय नाघेको छ। भिषण बाढीका कारण नोभा पिबर्गो, टेरेसा पोलिस र पेट्रोपोलिस शहर सवैभन्दा बढी प्रभावित भएको छ। बाढी र पहिरोमा परी हराइरहेका सयौ मानिसको खोजी कार्यका लागि उद्धारकर्मी सक्रिय भएको सञ्चार माध्यमहरुले जनाएका छन्।
हराइरहेका आफन्त तथा परिवारका सदस्यहरुको खोजी तथा उद्धारका लागि पिडित परिवार पनि जुटेका छन्। बाढी र पहिरोका कारण हजारौ मानिस घरबार विहिन बन्न पुगेका छन्। राष्ट्रपति डिल्मा रुसैफले बाढी प्रभावित तिन वटा शहरको भ्रमण गरी प्रभावित समूदाय प्रति शान्त्वना ब्यक्त गरेकी छिन्। रियो द जेनेरियोको उत्तरी क्षेत्र सेरानका सडक मार्गहरुमा लेदो युक्त बाढी थुप्रिएका कारण बाटोघाटो अवरुद्ध बन्न पुगेको छ।
सडकमार्ग अवरुद्ध हुन पुगे पछि उद्धार कार्यका लागि गएका करिब आठ सय उद्धारकर्मी बीच बाटो मै रोकिन पुगेको बताइएको छ। रिओ द जेनेरिओ शहरको उपनगरिय क्षेत्रमा थुप्रै घर एवं भवनहरु माटोको बाक्लो लदोमा पुरिएका कारण सो इलाकामा सयौ मानिसहरु फसेको हुनसक्ने अनुमान गरिएको छ। यसैगरी मध्य टेरेसापोलिस शहरमा बाढीले ठुलो मात्रामा क्षति पुर्याएको बताइएको छ। बाढी र पहिरोग्रस्त क्षेत्रमा सडक यातायात अवरुद्ध बनेका कारण थप संकट उत्पन्न भएको छ। यसैगरी बाढी र पहिरोग्रस्त शहरहरुमा टेलिफोन, विद्युत र खानेपानी अवरुद्ध भएको छ।
बाढी र पहिरोका कारण ब्रजिलको आर्थिक राजधानीको रुपमा चिनिने साउ पाउलो शहरको जनजीवन पनि नराम्ररी प्रभावित बनेको छ। शहरको यातायात ब्यवस्था अस्तब्यस्त बनेको छ। ब्रजिल सरकारले बाढी र पहिरोका कारण देशको दक्षिणी क्षेत्रहरुमा अरवौ डलरको नोक्सानी भएको जनाएको छ।