अर्घाखाँची पटौटीका कृषकहरु दूग्ध उत्पादनमा

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको पटौटी गाविस वडा नं. ६ का कृषकहरुले दूग्ध उत्पादन गरी मनग्य आम्दानी गरेका छन् ।

 

कृषकहरुले भैंसी तथा जसर्ी गाई पालन गरी दूध बिक्री गरेर मनग्य आम्दानी गरेका हुन् । परम्परागत खेती र प्राचीन ढङ्गले पशुपालन गर्दा आम्दानीको भरपर्दो स्रोत नभएपछि यहाँका कृषकहरुले पशुसेवा कार्यालय अर्घाखाँचीको सहयोगमा एक वर्ष यता व्यवयायिक रुपमै उन्नत जातका गाई र भैंसी पालन गर्दै आएका छन् ।

 

गाउँमा यातायातको सुविधा हुनुका साथै आफूले उत्पादन गरेको दूधले पाल्पा र पोखराको बजार पाएपछि यहाँका कृषकहरु दूध उत्पादनमा आकर्षित भएका हुन् । पटौटीको निगालीका ५० परिवारले दैनिक ५ सय ५० लिटर दूध बिक्री गर्ने गरेको कृषकहरुको भनाइ छ ।

 

पटौटीमा उत्पादन भएको दूध गाउँमै आएर पोखराको सुजल डेरी उद्योगले खरिद गर्ने गरेको स्थानीय कृषक शंकर घिमिरेले बताए । कृषकहरुले गाउँमा गाई पाल्ने समूह बनाएका छन् । समूह बनाएर गाई पालन गर्दा दाना जुटाउन तथा औषधि उपचारका लागि सजिलो हुने गरेको कृषकहरुको भनाइ छ । कृषकले उत्पादन गरेको दूध संकलनका लागि जिल्ल्ाा पशु सेवा कार्यालयले एक हजार लिटर बराबरको चिलिङ्ग भ्याट उपलब्ध गराएको छ । पशु सेवा कार्यालयले तालिम दिएपछि आफूहरु गाई पालनमा आकर्षित भएको कृषकहरुको भनाइ छ ।

 

घरमै भएको घाँसपात र सामान्य दाना पानीबाट पनि मनग्य आम्दानी भएको उनीहरुको भनाइ छ । एउटा गाईले दैनिक २४ लिटरसम्म दूध दिने र उत्पादित दूध दैनिक ३० रुपैंयाँ लिटरमा बिक्री हुने गरेको छ ।

 

यहाँका कृषकहरुले तीन सयदेखि पन्ध्र सयसम्म दैनिक आम्दानी गर्ने गरेको जनाइएको छ । पटौटी गाविसका सबै वडाहरुमा व्यवसायिक गाई पालनका लागि योजना बनाइएको जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका प्रमुख लक्ष्मणप्रसाद श्रीवास्तावले बताए । पशुसेवा कार्यालय अर्घाखाँचीले २५ हजार मूल्य बराबरका ५ वटा आल्मोनियम मिल्क क्यान उपलब्ध गराएको कृषकहरुको भनाइ छ ।

 

– रासस