ट्युनिसियाली संविधानअनुसार, प्रतिनिधि सभाका प्रमुख फौआड मेबचाले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुका साथै नयाँ मन्त्रीमण्डल गठन गरेको घोषणा गरेका छन।
अफ्रिकी मुलुक ट्यूनिशियामा हिंसा जारी रहेको छ। अपदस्थ राष्ट्रपति जाइन इल अबीदाइन बेन अलीका वफादार सैनिक र ट्यूनिशियाका सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान भैरहेको छ। प्रत्यक्षदर्शीहरुले राजधानी ट्यूनिशको राष्टपति भवन रहेको क्षेत्रमा भिषण गोलिवारी भएको जनाएका छन्। संसदका सभामुख फौएद मेबाजालाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरिएपछि राजनीतिक संकट केही कम हुने आशा व्यक्त गरिएको थियो। यद्यपी हिंसा चर्किएर गएपछि ट्यूनिशियाको अवस्था जटिल बनेको बताइएको छ।
राजनीतिक हिंसा बढेपछि २३ वर्ष सत्तामा रहेका राष्ट्रपति बेन अली मुलुक छाडी भागेपछि ट्यूनिशियामा नयाँ राजनीतिक संकट देखा परेको हो। उनी परिवारसहित शरण लिन साउदी अरेविया पुगेका छन्। मुलुकमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, पेट्रोलियम पदार्थ र खाद्यान्नमा गरिएको मुल्य वृद्धि विरुद्ध हप्तौ लामो हिसांत्मक प्रदर्शन भएपछि उनी मुलुक छाडी भागेका हुन्। यसैबीच प्रधानमन्त्री मोहम्मद घान्नोउचीले राष्टिय टेलिभिजनमा देशबाशीलाई सम्बोधन गर्दै आजसम्ममा नयाँ संयुत्तः गठबन्धन सरकारको घोषणा गरिने दावी गरेका छन्। उनले नागरिकहरुलाई संयम रहन आग्रह गर्दै हिंसा भड्काउने तत्वलाई नछाडिने बताएका छन्। प्रधानमन्त्रीले सरकार गठनका लागि विपक्षी दलहरुसँग वार्ता प्रयास भैरहेको जनाएका छन्।
अहिले ट्यूनिशियामा संकटकालको घोषणा गरिएको छ। एक महिना अघिदेखिको प्रदर्शनका क्रममा ट्यूनिशियामा सुरक्षाकर्मीको गोलीबाट दर्जनौ मानिसको मृत्यु भइसकेको छ। उता राजधानी लगायत मुलुकका प्रमुख शहरहरुमा लूटपाट र अन्य आपाराधिक घटनाहरु हुन थालेपछि ट्यूनिशियाले थप संकटको मार झेल्नु परेको छ।