सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको भद्री खोलामा बस्ने बादी समुदायका बासिन्दाहरुले चिसोका कारण कष्टकर जीवन बिताउँदै आएका छन् । भद्री खोलाको किनारामा स-साना छाप्रे घर बनाएर बसेका १० परिवार बादी समुदाय ओढ्ने र ओछ्याउने लुगाको अभावमा खोलाको चिसो सिरेटोमा रातभर जागाराम रहनुपर्दा दुःखमा पिल्सिएका हुन् ।
करिब १ सय १० वर्ष पहिले आफ्ना पुर्खाहरु अर्घाखाँची आएको बताउने वादी समुदायका १० परिवार २० वर्षदेखि भद्री खोलाको किनारामा बस्दै आएका छन् । भद्री खोलाको किनारामा रहेको भद्री सामुदायिक वन किमडाँडा – २ को पुछारको भिरालो ठाउँमा स-साना १० वटा झुप्राहरु बनाएर बसोबास गर्दै आएका उनीहरुको नाममा कहींकतै पनि जग्गा जमिन नभएको उनीहरुको भनाइ छ । घरमा आर्थिक उपार्जनको कुनै स्रोत नभएका उनीहरुको पुस-माघको सिरेटोमा खोलाको किनारमा गई बिहानदेखि साँझसम्म चिसो पानीमा बालुवा चाल्नु र गिट्टी फुटाउनु दैनिक दिनचर्या बनेको छ ।
माछा मारेर आफ्नो दैनिकी चलाउँदै आएका बादी समुदाय ५, ६ वर्षयता आफ्नो पेशा संकटमा परेको बताउँछन् । खोलामा विष राखेर माछा मार्ने प्रवृत्ति बढेपछि खोलामा पाइने सबै जलचरहरु सखाप भएको उनीहरुको गुनासो छ । खोलामा माछा पाइन छाडेपछि ज्याला मजदुरी गरेर दिन बिताउन बाध्य भएको ६५ वर्षीय वृद्ध मोहनलाल बादीले बताए ।
बिहान ७ बजे उठेर बाँगी खोलाको किनारमा गई दिनभर खोलाको चीसो पानीमा झिजेर बालुवा चाल्नुपर्दा बादी बस्तीमा धेरैजसो बिरामी पर्ने गरेका छन् । हातखुट्टा सुन्निने रुघाखोकी लाग्ने ज्वरो आउने र शरीर दुख्ने बिमारबाट आफूहरु निक्कै पीडित भएको उनीहरुले बताए ।
१० परिवार रहेको बादी बस्तीमा विद्यालय पढ्ने उमेरका ३०- ३५ जना बालबालिकाहरु रहेका छन् । विद्यालय पढ्ने उमेरका बालबालिकाहरु घरमा बसेर साना-साना भाइबहिनी हेर्ने र खोलाको बगरमा बालुवा चाल्नुका साथै आमाबाबुलाई सघाउँछन् । गाउँमै स्कुल पढ्न जानेहरु ३, ४ जना मात्र छन् ।
घरमा खाने र बस्ने समस्या भएका कारण छोराछोरीलाई स्कुल पढाउन नसकेको ललिता बादीले बताइन्। एक दिन खोलामा गएर काम नगरे घरमा साँझ चुलो जल्दैन पढ्नेभन्दा ठूलो समस्या खाने हुँदो रहेछ ।
छोराछोरी पढाउने इच्छा हुँदाहुँदै पनि पढाइ खर्च जुटाएर पढाउने उपाय नभएकोले छोराछोरी घरमै राख्नुपरेको उनीहरुको भनाइ छ । सरकारले दलित विद्यार्थीहरुका लागि दिएको न्यून छात्रवृत्ति आफूहरुको निम्ति हात्तीको मुखमा जिराजस्तै बन्ने गोपाल वादीले बताए ।
घरमा ओढ्ने ओछ्याउने लुगा नहुनु दिनभर चिसोमा काम गर्नु र आगो ताप्नको लागि दाउरासमेत नहुँदा जाडोको समय आफूहरुको लागि निक्कै कष्ट र सास्तीको समय भएको सुन्तली बादीको भनाइ छ । सरकारसँग विभिन्न समुदाय र वर्गले विभिन्न प्रयोजनका लागि करोडौँ रुपैयाको माग गरेर दवाव दिइरहँदा यहाँका बादी समुदाय भने आफ्ना लागि सरकारले एक-दुई वटा कम्मल उपलब्ध गराए नयाँ जीवन नै दिएको महसुस हुने बताउँछन् ।
– Shobhakar Panthi in Arghakhanchi contributed to this report.