अन्तरजातीय प्रेमविवाह गर्ने एक युवतीलाई तल्लो जातको केटासित विवाह गरेको भन्दै गाउँ निकाला

बैतडी  – यही माघ ३ गते अन्तरजातीय प्रेमविवाह गर्ने एक युवतीलाई माइतीले तल्लो जातको केटासित विवाह गरेको भन्दै गाउँ निकाला गरेपछि सदरमुकाममा विस्थापित भएकी ती युवतीले बच्चा जन्माएपछि थप समस्या भएको छ ।


गर्भवती अवस्थामै विस्थापित भएकी भागरथी वडले एकदिनको पैदल बाटोमा हिँडेर आउँदा दुई हप्ता अगाडि नै बच्चा जन्माएकी हुन् । चिसो मौसममा प्रयाप्त लुगाविना सदरमुकाम पुगेलगत्तै बच्चा जन्माएपछि सुत्केरी आमा र बच्चालाई झन् समस्या थपिएको छ ।


कुटपिटपछि ज्यान जोगाउन जिल्ला सदरमुकाम बैतडी आइपुगेका गोकुलेश्वर क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सुरेश दमाई र सत्यप्रकाश उमावि ९ कक्षामा अध्ययनरत भागरथी वडले आफूहरुलाई माओवादीका स्थानीय कार्यकर्ताले निवेदन फिर्ता गरी गाउँमा आएर मुद्दा मिलाउन दबाब दिएकोे बताएका छन् ।


�गाउँ फक्रिएपछि फेरि पिट्ने हुन् कि भन्ने डर छ� विस्थापित सुरेशले भने- �सदरमुकाम बस्न पनि खल्तीमा एक कौडी छैन, के गर्ने ?�


विस्थापितहरुलाई तत्काल डिएनएफ नामको दलित संस्थाले खाने, बस्ने व्यवस्था मिलाएको भए पनि सुत्केरी पत्नी र बूढीआमा साथमा राखेर कतिदिन सदरमुकाम बस्ने भन्ने चिन्ताले सताएको सुरेश बताउँछन् ।


यसअघि स्थानीय सिमार प्रहरी चौकीको रोहवरमा स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुले आठचोटी गाउँमै मुद्दा मिलाए पनि माइतीपक्षको दुव्र्यवहार नरोकिँदा न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय आएको सुरेशले पुनः गाउँ फर्किए आफूहरुमाथि आक्रमण हुने बताएका छन् ।


तल्लो जातको केटासित बिहे गरेर हाम्रो गाउँमा बस्न मिल्दैन भनेर यही माघ ३ गते कुटपिट गरेपछि आमा मन्दोधरीसहित छोरा बुहारी जिल्ला सदरमुकाम आइपुगेका हुन् ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालयले माइतीपक्षलाई बोलाएर सोधपुछ गर्ने बताए पनि उनीहरुलाई झिकाउन सकेको छैन ।