संखुवासभा – प्राप्त समाचार अनुसार परराष्ट्र माओवादीका पूर्व लडाकु लुटपाटमा संलग्न भएको पुष्टि भएको छ । चार महिनाअघि संखुवासभाको मादिमूलखर्क-४ मा भएको लुटपाटमा पूर्व छापामार लोकेन्द्र नामले चिनिने रामकुमार जिमी संलग्न रहेको पुष्टि भएको हो । जिमीको घर मादीमूलखर्क-४ मै पर्छ ।
लडाकु जिमीले स्थानीय तारावीर कार्कीको ७० हजार रुपैयाँ नगद र मोवाइल सेट लुटेका थिए । प्रहरीले पक्राउ गरेका जिमीले आफूले कार्कीको सामान र नगद लुटेको स्वीकारेको चैनपुर इलाका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
३१ वर्षीय जिमी छापामार प्रमाणिकरणमा नपरेपछि घर फर्केका हुन् । इलामको चुलाचुलीमा बसेका उनकी श्रीमती शोभामाया भने छापामार नै रहेको प्रहरी निरीक्षक थापाले बताए । इलामको चुलाचुली लडाकु सिविरमै बस्दै आएकी शोभामाया प्रहरीले जिमीलाई पक्राउ गरेपछि संखुवासभा आएकी छन् ।
२०५८ देखि माओवादी जनयुद्धमा लागेका जिमी मोरङको बेलबारी र सिराहाको बन्दीपुरमा युद्ध लडेका थिए । त्यही क्रममा उनको छातिमा गहिरो चोट लागेपछि भारतको मुजफर्पुरमा लगेर उपचार भएको उनले स्वीकारेका छन् । लामो अनुसन्धानपछि पुस २७ गते पक्राउ परेका जिमीलाई प्रहरीले १० दिने म्याद थपेर चैनपुर इलाका प्रहरी हिरासतमा राखेको छ ।