राष्ट्रपति होस्नी मुबारकलाई सत्ताबाट हटाउन इजिप्टमा प्रदर्शन, तीनजनाको मृत्यु


 

इजिप्टमा सरकारविरोधी भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई सर्वसाधारण र एक जना प्रहरी अधिकारी रहेका छन्। राष्ट्रपति होस्नी मुबारकलाई सत्ताबाट हटाउन भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा उनीहरुको मृत्यु भएको हो। तीन दशक शासन गरिसकेका मुबारकले अझै शासन लम्ब्याउने आशंका बढेपछि उनलाई हटाउन सर्वसाधारण देशव्यापी प्रदर्शनमा उत्रिएका छन्।

 

राजधानी कायरोमा भएको प्रदर्शनमा हजारौ संख्यामा रहेका प्रदर्शनकारीले राजधानीको मध्य भागमा सरकार विरोधी उत्तेजक नाराबाजी गरेका छन्। राजधानीको मुटु मानिने ताहरिर स्क्वायरमा भेला भएका प्रदर्शनकारीको भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास, पानीको फोहरा र रबरका गोलि प्रहार गरेका छन्। रात्रिकालिन समयमा भएको सो प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले राजधानीमा थप सुरक्षा बल परिचालन गरेको बताइएको छ।

 

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको उग्र भिडलाइ तितर वितर गर्न प्रहरीले चलाएको रवरको गोलि लागि अल जजिराका एक फोटो पत्रकार घाइते भएका छन्। छिमेकी मुलुक ट्यूनिशियामा हालैका दिनहरुमा भएको सरकारविरोधी प्रदर्शनबाट प्रभावित भएर इजिप्टका नागरिक पनि प्रदर्शनमा उत्रिएको बताइएको छ।