काभ्रे – प्राप्त समाचार अनुसार सिन्धुपाल्चोक जिल्लाको भौगोलिक दृष्टिले अति दुर्गम मानिने लिसंखु गाविसमा रहेको बुद्धोदय उच्च माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई विद्यालय हाताभित्र मोबाइल प्रयोगमा रोक लगाएको छ ।
मोबाइलको बढ्दो प्रयोग सँगै विद्यार्थीहरुले पठानपाठन भइरहेको समयमा पनि मोबाइल बजाएर गीत सुन्ने, फोनमा कुरा गर्ने, अश्लील भिडियोहरु हेर्ने जस्ता कार्यले शिक्षण प्रक्रियामा प्रत्यक्ष असर पुर्याएको भन्दै विहान ९.३० बजेदेखि मध्यन्ह ४ बजेसम्मका लागि मोबाइल निषेध गरिएको प्रध्यानाध्यापक धावा साङ ङ्याङजोले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले जर्वजस्ती मोबाइल प्रयोग गरेको देखे ४ सय रुपियाँ जरिवान लिने र अभिभावकको रोहबरमा मोबाइल फिर्ता दिने गरेको छ ।
यसैबीच विद्यालयले शिक्षकशिक्षिकाहरुलाई पनि मोबाइल प्रयोगमा कडाइ गर्न थालेको छ । शुरु-शुरुमा पठाइ रहेकै समयमा कक्षा कोठाबाटै फोन गर्ने शिक्षकहरु अहिले अफिसकोठामा गएर मात्रै फोन गर्ने गरेको प्रध्यानाध्यापक ङ्याङ्जोले बताउनुभयो ।