दुखाइनाशक सबै औषधिहरू मुटुका लागि खतरनाक

– तपाईं दुखाइनाशक औषधि सेवनमा अभ्यस्त हुनुहुन्छ भने सावधान भइहाल्नुस् । नयाँ अनुसन्धानअनुसार पीडा शमन गर्नका लागि प्रचलित डाइक्लोफेनाक र आइबुप्रोफेन जस्ता औषधिहरू मुटु रोगका कारक बन्न सक्छन् ।

प्रचलित यस्ता सबै पेनकिलर औषधिहरू मुटुका लागि खतरनाक हुन्छन्, जसलाई सामान्यतः व्यक्तिहरू पीडा घटाउन उपयोग गर्छन् । यस्ता औषधिमा पारम्परिक ननस्टेराइडल एन्टिइन्फलेमेट्री र नयाँ एन्टिइन्फलेमेन्ट्रीसमेत पर्छन् । पारम्परिक डाइक्लोफेनाक र आइबुप्रोफेन औषधि गठिया र अन्य गम्भीर दुखाइका बेला सम्बद्ध रोगीहरूले प्रयोग गर्छन् ।

स्विट्जरल्यान्डमा यसबारे भएको अनुसन्धानमा १ लाख १६ हजार ४ यस १९ रोगीमाथि ३१ चोटि ट्रायल परीक्षण गरिएको थियो । उनीहरूलाई न्यापरोक्सेन, आइबुप्रोफेन, डाइक्लोफेनाक, सलिकाक्सिभ, इन्टोरिकाक्सिभ, रोफेकाक्सिभ, ल्युमिराकाक्सिभ दिइएको थियो । कार्डियोभास्कुलर जोखिमको वास्तविकता पहिचान गर्न सकियोस् भनी सहभागीहरूलाई यी औषधिको सेवन गराइएको थियो । अनुसन्धानकर्ताहरूले यी औषधिको सेवनपछि सबै सहभागीहरूमा मुटुसम्बन्धी समस्या पाए । उक्त अध्ययन प्रतिवेदनअनुसार २९ औं ट्रायल परीक्षणमा ५ सय ५४ रोगीमा हृदयाघात देखियो । २६ औं ट्रायलमा करिब ३ सय ७७ रोगीलाई स्ट्रोक भएको थियो । २८ औं ट्रायलमा ६ सय २४ रोगीको मृत्यु भएको थियो ।

अनुसन्धानकर्ताहरूले के पाए भने रोफेकाक्सिभ र ल्युमिराकाक्सिभ औषधि हृदयाघातका लागि दुई गुणा दोषी थिए । आइबुप्रोफेनलाई औषधि स्ट्रोकका लागि तेब्बर दोषी पाइयो । यस्तै, इन्टोरिकाक्सिभ र डाइक्लोफेनाक उच्चतम कार्डियोभास्कुलर मृत्युका लागि जिम्मेवार हुन्छन् । न्यापरोक्सेनसहित अन्य सातवटै पेनकिलर अन्य औषधिको तुलनामा मुटुसम्बन्धी जोखिमका लागि कम हानिकारक रहेको उक्त अध्ययनको उल्लेख छ ।

हृदयाघात रोक्न ओ रक्त समूह सहयोगी

नयाँ अनुसन्धानअनुसार ‘ओ’ रक्त समूहले कुनै पनि व्यक्तिलाई हृदयाघातबाट बचाउन सहयोगी भूमिका खेल्छ । मानव शरीरमा जुन जीनले ‘ओ’ रक्त समूह उत्पन्न गर्ने एन्जाइम्स निकाल्छ त्यसले धेरै हदसम्म हृदयाघातबाट समेत जोगाउने विज्ञान पत्रिका ‘लान्सेट’ मा उल्लेख छ ।

यो अनुसन्धान अमेरिकाको पेन्सिलवानिया विश्वविद्यालयअन्तर्गत कार्डियोभास्कुलर इन्स्िटच्युटको अन्तर्राष्ट्रिय टोलीले गरेको हो । यसका लागि उक्त टोलीले हृदयाघातबाट पीडित ६ हजार र हृदयरोगबाट पीडित करिब साढे ७ हजार व्यक्तिबीच तुलनात्मक अध्ययन गरेको थियो । त्यसबाट ‘ओ’ रक्त समूहका व्यक्ति हृदयसम्बन्धी रोगबाट हत्तपत्त पीडित हुन नसक्ने पुष्टि त भयो, तर त्यसले कुन सीमासम्म रक्षा गर्छ भन्ने अझै प्रस्ट हुने सकेको छैन । यसबारे उक्त अनुसन्धान मौन छ ।