अफ्रिकी राष्ट्र सुडान टुक्रिने निश्चित, दक्षिणी सुडानलाई छुट्टै राज्य बनाउने पक्षमा उनान्सय प्रतिशतभन्दा बढी मत

अफ्रिकाको सबैभन्दा ठूलो देश टुक्रिने निश्चित भएको छ। यही महिनाको शुरुमा भएको जनमतसंग्रहमा दक्षिणी सुडानलाई छुट्टै राज्य स्थापित गर्नुपर्ने पक्षमा अत्यधिक मत परेपछि सुडान टुक्रिने निश्चित भएको हो। निर्वाचन आयोगले उनान्सय दशमलब पाँच प्रतिशत मतदाताले दक्षिण सुडानको स्वतन्त्रता पक्षमा मतदान गरेको जनाएको छ। स्वतन्त्रता पाएपछि दक्षिण सुडानको राजधानी तय भएको जुबा शहरमा जनमतसंग्रहको पहिलो औपचारीक चुनावी नतिजा सार्वजानीक गर्न सयौ अधिकारी र कुटनितिज्ञहरु भेला भएका थिए।

 

जुबा शहरस्थित विद्रोही नेता जोन गराङ्गको समाधिस्थलमा जनमतसंग्रहको पहिलो औपचारीक नतिजा सार्वजनिक गरिएको बताइएको छ। सन् दुई हजार पाँचमा खार्तुम सरकार र दक्षिणी सुडानको विद्रोही समूहबीच भएको शान्ति सम्झौता अनुसार जनमत संग्रह भएको हो। शान्ति सम्झौतामा साठी प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेमा सुडानलाई स्वतन्त्र राज्य घोषणा गर्र्ने प्रावधान राखिएको थियो।

 

जनमत संग्रहमा अड्तिस लाख एकाउन्न हजार नौ सय चौरानब्बे मतदाता सहभागि भएको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ। सो मध्ये एकिकृत सुडानको पक्षमा सोह्र हजार एक सय उनन्तीस मत मात्र खसेको बताइएको छ। स्वतन्त्रता पाएपछि दक्षिणी सुडान विश्वको सबैभन्दा कान्छो स्वाधिन राष्ट्र बन्ने भएको छ।