एउटा अन्तर्राष्ट्रिय कार्यदलले आउने केही महिना भित्र आधा दर्जन जति नयाँ कानुनहरु नल्याए नेपाललाई कालो सूचीमा राख्ने खबरदारी गरेको छ।
तर देशभित्र संसदनै अनिर्णयको बन्दी बनेको बेला अधिकारीहरुचाहिं विलखवन्दमा परेका छन्।
बितेको सात महिनादेखि नयाँ प्रधानमन्त्री छान्ने गोलचक्करमा फँसेका कारण देशभित्रको स्थिति त गञ्जागोल थियो नै, अब विस्तारै यसको असरले देशबाहिर नेपालको छवि नराम्ररी खस्कने खतरा बढेको छ।
र्याखर्याख्ती
दश दिन अगाडि अष्ट्रेलियाको क्यानबेरामा भएको एउटा छलफलमा नेपालले नयाँ कानुनहरु बनाउन गरेको ढीलाइप्रति पेरिसमा मुख्यालय रहेको फाईनान्सीयल एक्सन टास्कफोर्सका अधिकारीहरुले नेपाली सहभागीहरुलाई निकैबेर र्याखर्याख्ती पारेका थिए।
गएको एक वर्षभित्र कैयौं पटक अर्थमन्त्री लगायतलाई चिठी लेखेर उक्त अन्तर्राष्ट्रिय कार्यदलले नेपाललाई कालो धनलाई सेतो बनाउने अर्थात मुद्रा शुद्धिकरण निवारण गर्ने कानुन बलियो बनाउन खबरदारी गरेको थियो।
नेपालसंग अब ती कानुनहरु परिमार्जन गर्न केही महिनामात्र बाँकी रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउंछन्।