क्षितिजमा हराएको मान्छे म



– भीम बहादुर बस्नेत
अर्घाखाँची,  नेपाल
हाल दोहा कतार

आँखामा नौलो सपना सजाई

बिदेशी शहरको कल्पना गर्दै
बाध्यताको पोको बोकी म
आयं सपनाको शहर
मरुभूमिको मिर्ग तिष्णा सरी
प्यासी म
पानी खोज्दै  धाइ रहेछु
सुर्यको ताप आगोको राप झैँ छ
जता हेर्छु त्यहीं बालुवा देख्छु
तातो हावा चल्दा गाला नै भुइमा
झरे जस्तो लाग्छ /
पसिना क्षण मै चुहिएर शरीर सारा
भिज्छ अनी मातृभूमिको
याद आउँछ /
आँखा भरी सेतो हिमाल
लेक भरी त्यो लाली गुराँस
प्राकृति को धनी
स्वर्ग भन्दा प्यारो हाम्रो नेपाल
उस ………………………..
लामो सुस्केरा फेर्दै
धिक्कार रहेछ जीन्दगी,
आफ्नाले यहाँ आफ्नालाई ठगेका छन
श्रम लुटिएको छ शर्मिक लुटिएका छन
केवल म पिंजडाको सुगा सरी
बाँची रहेको छु /
न कुनै प्रति क्रिया गर्न सक्छु ,
न म चटक्कै छाडन सक्छु
हुनत म गरिब देशको गरिब नागरिक
बसेर बोलौं त कसैले सुन्दैन  
उठेर बोलौं त हावाले उडाई दिन्छ /
चिता माथिको लाश सरी
भौतिक शरिर लडी रहेको मुढो जस्तै
जिउदै मरेको मान्छे म
आगोले जलाउँदा पनी कुनै प्रति क्रिया
दिन नसक्ने, 
क्षितिजमा हराएको मान्छे म
जसरी घामका किरण जब
क्षितिजमा पुग्छन
अनी केहि बेर मै  हराउँछन /
संसार अन्धकार मय हुन्छ …………./


                                                   १९ माघ २०६७