परीक्षार्थीमध्ये धेरै भारतमा छन् । कुनै-कुनै परीक्षार्थी पहिलो दिनको जाँचमा उपस्थितमात्र भएर उतै फर्के । सदरमुकामको त्रिभुवन उच्चमावि बाहेक अन्यमा जाँच नदिएका परीक्षार्थी उत्तीर्ण भएका हुन् । जिल्लाका सम्पूर्ण विद्यालयका झन्डै ४ हजारमध्ये करिब हजार विद्यार्थी परीक्षामा सहभागी नै नभई उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी नहुने विद्यार्थीबाट कम्तीमा ४ हजारका दरले रकम उठाइएको स्थानीय नगेन्द्र शाहले बताए । सरस्वती उच्च मावि सीमामा २ सय ६० मध्ये ९० जना जतिले जाँचै नदिएरै उत्तीर्ण भए । लक्ष्मी प्राप्ति उच्चमाविमा पनि १ सय २५ मा ६० ले परीक्षा नदिएरै उत्तीर्ण भए छन् । परीक्षामा सहभागी नहुने विद्यार्थीको हाजिर रेकर्ड मिलाइएको एक शिक्षकले बताए ।
यहाँ ४५ मावि सञ्चालनमा छन् । तीमध्ये धेरैजसो विद्यालयमा २५ प्रतिशत पनि कोर्स पूरा भएको छैन । शिक्षक राजनीति, निजी अध्ययन, व्यापार व्यवसायमा व्यस्त हुने र विद्यालयमा अनुपस्थित हुँदा नियमित पठनपाठनमा अवरोध भई कोर्स पूरा हुँदैन । शैक्षिक सत्रभरि कम्तीमा ३ सय दिन पढाउनुपर्ने प्रावधान भए पनि विद्यालयमा वर्षको सय दिन पनि पढाइ नहुने अभिभावक बलबहादुर शाहीले बताए ।
शिक्षकले पठनपाठनमा लापरबाही गर्दा परीक्षा प्रणालीमा अनियमितता बढेको हो । गाउँमा विभिन्न परीक्षा केन्द्र स्थापना हुनुले झन् विकृति बढेको अभिभावक बताउँछन् ।
अघिल्लो एसएलसी तथा ११ र १२ को परीक्षामा मलेसिया, दुबई, भारतलगायतका देशमा बसेका समेतले त्यस्ता परीक्षा उत्तीर्ण गरेको रहस्य खुलेको छ । त्यसैगरी औपचारिक शिक्षा नपाएका, नेपाली र अंग्रेजी अक्षर नचिन्ने समेतले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् ।
गेसपेपरकै भरमा तयारी
प्रवेशिका परीक्षा नजिकिँदै जाँदा बाजुराका विद्यार्थी गेसपेपरको भरमा परीक्षाको तयारीमा जुटेका छन् ।
एसएलसीको तयारीमा रहेका यहाँका हरेक विद्यार्थीको हातमा अहिले गेसपेपरको चाङ नै देख्न पाइन्छ । गेसपेपर किन्न नसक्ने विद्यार्थीले समेत जेनतेन गेसपेपर किनेकै छन् ।
नेपाल शिक्षक युनियनका सचिव तुलाबहादुर थापा भन्छन्, ‘गेसपेपर नभएका विद्यार्थी भेट्टाउनै मुस्किल छ ।’ समयमा पाठ्यपुस्तक नपुग्ने, कोर्स पूरा नहुने, कतिपय विद्यालयमा विषय शिक्षक नहुनुलगायतका कारणले आफूहरू गेसपेपरको भर पर्न बाध्य भएको विद्यार्थी बताउँछन् ।
गेसपेपरबाट परीक्षामा चिट चोर्न सजिलो हुने भएकाले समेत परीक्षार्थी यसको भर पर्ने गरेका हुन् । यहाँका अधिकांश परीक्षा केन्द्रमा चिट चोर्न सहज वातावरण हुने भएकाले पनि गेसपेपरप्रति विद्यार्थीको आकर्षण बढेको स्थानीय पुस्तक बिक्रेता बताउँछन् । उनीहरू भन्छन्, ‘एसएलसीको बेला बर्सेनि राम्रो कमाइ हुने गरेको छ ।’