चेचन विद्रोही नेता डोकु उमारोभले गत महिना रुसको राजधानी मस्कोमा गराइएको शक्तिशाली विष्फोटको जिम्मा लिएका छन्। उनले सो विष्फोट आफ्नो निर्देशनमा भएको भन्दै रुसी अत्याचारको विरुद्ध आफ्नो संगठनले युद्ध जारी नै राख्ने चेतावनी दिएका छन्।
एक अनलाइन सेवामा आवद्ध उमारोभको भिडियो सन्देशमा ककाशस क्षेत्रमा रुसी अपराध जारी रहेका कारण मस्कोको विमानस्थलमा आक्रमण गर्नुपरेको बताइएको छ। उनले रुसी भूमिमा यस प्रकारका आक्रमणहरुले निरन्तरता पाइरहने समेत जनाएका छन्।
गत २४ जनवरीमा मस्कोको डोमोडेडोभो विमानस्थलमा भएको आत्मघाती विष्फोटमा ३६ जनाको मृत्यु भएको थियो भने १ सय भन्दा बढी घाइते भएका थिए। चेचन विद्रोहीहरुले चेचन्यालाई रुसबाट अलग गराउन दशकौदेखि शशस्त्र संघर्ष गर्दै आएका छन्।