राष्ट्रपति होस्नि मुबारकविरुद्ध आम नागरिकको प्रदर्शन अझ सशक्त बन्दै गएपछि अमेरिकाले इजिप्ट सरकारलाई मुुलुकमा लगाइएको संकटकालिन कानुन तूरुन्त हटाउन माग गरेको छ। अमेरिकी उपराष्ट्रपति जो बाइडेनले आफ्ना इजिप्टका समकक्षि ओमार सूलेमानसँगको टेलिफोन वार्तामा सो माग गरेका हुन्।
इजिप्टमा विगत ३० वर्षदेखि नै संकटकालिन कानुन लगाइएको छ। इजिप्टमा राष्ट्रपति होस्नि मुबारकले सत्ता छाड्नू पर्ने माग राख्दै गरिएको विरोध प्रदर्शन आज १६ औ दिनमा प्रवेश गरेको छ। हजारौ प्रदर्शनकारीले राजधानी कायरो लगायत देशका प्रमुख शहरहरुमा आफ्नो विरोध प्रदर्शन जारी राखेका छन्। उता मुस्लिम ब्रदरहुड लगायतका प्रमुख विपक्षी पार्टीहरु र नवनिर्वाचित उपराष्ट्रपति उमार सूलेमानविच भएको वार्तामा पनि मुबारकको राजिनामा प्रमुख मुद्दा भएका कारण वार्ता फलदायी बन्न सकेको छैन। सोमवार सरकारले सार्वजनिक क्षेत्रमा काम गर्ने कामदारको पारिश्रामिक १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो। यद्यपी प्रदर्शनकारीहरु सरकारप्रति लचिलो देखिएका छैनन्।
इजिप्टमा लगातारको प्रदर्शनका कारण त्यहाँको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ। इजिप्टमा देशब्यापी प्रदर्शनका क्रममा कम्तिमा ३ सय जनाको मृत्यु भैसकेको बताइएको छ। इजिप्टमा बढ्दो गरिवी, बेरोजगारी र मूल्य बृद्धिका कारण आम नागरिक मुबारकको शाशनबाट दिक्क बनेको राजनैतिक विष्लेषकहरु बताउदछन्।