इजिप्ट र ट्युनिसियाको आन्दोलनले शासकहरुलाई सत्ताच्युत गरेपछि अर्को मध्यपूर्वी राष्ट्र लिवियामा पनि त्यसको असर देखिएको छ। लिबियाको पुर्वी शहर बेन्घाजीमा सरकार विरोधी प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक भिडन्तसमेत भएको छ। बुधवार विहान प्रहरी मुख्यालय अगाडि भेला भएका सरकार विरोधी प्रदर्शनकारीहरुले देशको शासक भ्रष्ट भएको भन्दै सरकार विरोधी नारावाजी गरेका थिए।
प्रहरी मुख्यालय अगाडि हिसांत्मक प्रदर्शन शुरु भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताइएको छ। प्रदर्शनकारीहरुले सर्वसाधारणको भेषमा आएका सुरक्षाकर्मीले प्रदर्शनकारी माथि अश्रु ग्यास, लाठी चार्ज र तातो पानीले आक्रमण गरेेको आरोप लगाएका छन्। विरोधमा संलग्न केही प्रदर्शनकारीलाइ प्रहरीले गिरफ्तार गरेकोे छ।
इजिप्ट र टयूनिसियाको सफल क्रान्तिबाट उत्साहित भएका प्रदर्शनकारीहरुले विगत एकचालीस वर्ष देखि शासन गरिरहेका देशका शासक कर्नेल मुआम्मार गद्दाफिको शासन अन्त्य हुनुपर्ने माग गरेका छन्। लिबियामा यस अघि सरकार विरोधी आन्दोलन बिरलै रुपमा हुने गरेका थिए।