म्याग्दी – प्राप्त समाचार अनुसार म्याग्दीका एक युवाले दुवै हातबिना नै सजिलैसँग गाडी चलाएर सबैलाई चकित पारेका छन् । म्याग्दी जिल्ला बाबियाचौर गाउँ विकास समिति वडा नं. ६ निवासी २४ वर्षीय सुरेन्द्र केसीले दुवै हात नभए पनि गाडी चलाएर चकित पारेका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट हुँदा २०६३ साल असारमा दुवै हात गुमाएका केसीले सजिलैसँग गाडी चलाउने गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले बेवास्ता गर्ने गरेका कारण आफ्नो क्षमता देखाउने ठाउँ नपाएको उनको गुनासो छ ।
द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरुलाई आश्वासनबाहेक केही पनि पाउन नसकेको उनले बताए । केसीले चारजनाको परिवार गाडी चलाएर पाल्दै आएको छ ।