अन्तरिक्षमा हवल टेलिस्कोप स्थापना गर्न सफल अमेरिकी अन्तरिक्ष यान डिस्कभरीको अन्तिम अन्तरिक्ष प्रक्षेपण, प्रक्षेपण पछि संग्राहलयमा राखिने
फाल्गुन १४ गते, २०६७ मा प्रकाशित
अमेरिकी अन्तरिक्ष यान डिस्कभरीलाइ केनेडी अन्तरिक्ष केन्द्रबाट अन्तिम पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। डिस्करभरीको अन्तिम अभियानको रुपमा रहेको सो यानलाइ सफलतापूर्वक प्रक्षेपण गरिएकोमा अमेरिकी अन्तरिक्ष बैज्ञानिकहरुले खुशी ब्यक्त गरेका छन्।
अमेरिकी अन्तरिक्ष बैज्ञानिकहरुले आफ्नो अन्तरिक्ष कार्यक्रमलाइ सम्पन्न गरी फर्केपछि सो यानलाइ अवकाशप्राप्त यानको रुपमा घोषणा गरिने र संग्रालयमा राखिने जनाएका छन्। स्थानिय समय अनुसार विहिवार बेलुकी ४ बजेर ५३ मिनट जाँदा डिस्कभरीलाइ प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ। विहिवारको प्रक्षेपण डिस्कभरीको अन्तरिक्षमा ११ दिने अभियानको रुपमा रहेको बताइएको छ। डिस्कभरीमा एउटा रोबोट पनि अन्तरिक्षमा पठाइएको छ। डिस्कभरीलाइ अमेरिकी अन्तरिक्ष कार्यक्रमअन्तरगत सन् १९८४ देखि संचालनमा ल्याइएको थियो।
विहिवारको प्रक्षेपण डिस्कभरीको ३९ औ अभियान हो। अन्य यानको तुलनामा डिस्कभरी अन्तरिक्षमा बढी समय रहन सक्छ। विगत ३० वर्षमा डिस्कभरीले अन्तरिक्षमा हवल टेलिस्कोप स्थापित गर्न सफल भएको थियो। अन्तरिक्ष कार्यक्रममा हवल टेलिस्कोपको स्थापनालाइ ठूलो सफलताको रुपमा लिइएको छ।