सुरक्षा परिषदद्वारा कर्णेल गद्दाफीको सरकार विरुद्ध प्रतिबन्ध, विदेश यात्रामा प्रतिबन्ध लगाउनु साथै गद्दाफ़ीका समर्थक एवम परिवारजनका संपत्ति पनि जफत


 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कर्णेल गद्दाफीको सरकार विरुद्ध प्रतिबन्ध लगाउने र कडा कदम उठाउने पक्षमा मतदान भएको छ।

 

सुरक्षा परिषदमा उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाउनु साथै गद्दाफ़ीका समर्थक एवम परिवारजनका संपत्ति पनि जफत गर्ने बारेमा सहमती भएको छ।

 

सुरक्षा परिषदले लिवियामा हिंसा मच्चाएको, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि निर्मम तरिकाले दमन गरेको र आम संहार गरेको भन्ने प्रमाणित भएकालाई अन्तरराष्ट्रिय आपाराधिक अदालतमा पेश गर्ने निर्णय गरेको छ।

 


 

सुरक्षा परिषदमा चीनले भने पश्चिचमा राष्ट्रहरुको सो भनाइको विरोध गर्दै आएको भए पनि उसले प्रस्तावको विरुद्ध भिटो प्रयोग गरेन। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको चीन स्थायी सदस्य राष्ट्र हो।

 

यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिवियाका नेता कर्णेल गद्दाफीले शासनको बैधता गुमाइसकेको हुनाले उनले तुरुन्त सत्ता छाड्नूपर्ने बताएका थिए। अमेरिकी सरकारले पनि लिविया माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। गद्दाफी, उनका परिवार र सरकारको सवै सम्पत्ति जफत  गरिएको घोषणा सुरक्षा परिषद र अमेरिकी सरकारले गरेपछि गद्दाफीमाथि अन्तरराष्ट्रिय दवाव बढेर गएको छ।
 
 
बेलायतले आफ्ना सयौ नागरिकलाई लिवियाबाट उद्धार गरेको छ। सोही क्रममा बेलायती सेनाले लिवियाको मरुभूमिबाट आफ्ना १ सय ५० तेल कामदारलाई उद्धार गरी माल्टा पुर्याएको छ।

 

कर्णेल गद्दाफीको विरुद्ध लिवियामा जारी रहेको प्रदर्शनका कारण विदेशी नागरिकको सुरक्षा अवस्था चिन्ताजनक रहेको हुनाले बेलायत लगायत अन्य थुप्रै मुलुकहरुले लिवियामा रहेका आफ्ना नागरिकलाई घर फिर्ता बोलाउन थालेका छन्। बेलायती सेनाले आफूले उद्धार गरिएकाहरुमा बेलायती बाहेकका विदेशी नागरिक पनि रहेको जनाएको छ। बेलायती सेनाले उनीहरुलाई लिवियाको दोस्रो ठूलो शहर बेनघाँजीको दक्षिणी क्षेत्रबाट उद्धार गरेको हो।