मुस्ताङमा तीन हजार वर्ष पुरानो मानिएको मानवनिर्मित एक गुफा फेला



अनुसन्धान भइरहेको एक गुफाको स्केच। तस्बिरः पुरातत्व विभाग



 

मुस्ताङका प्राचीन गुफाहरूमा आधुनिक जीवनशैलीका अवशेष फेला परेका छन्। तीन हजार वर्ष पुरानो मानिएको मानवनिर्मित एक गुफाको बनोट बंगलाजस्तै छ।

             अनुसन्धानका क्रममा अहिलेकै जीवनशैलीसँग मेल खाने किसिमका विभिन्न चिह्न भेटिएको पुरातत्व विभागले जनाएको हो। विभागका अनुसार 20 कोठे गुफामा भेटिएका पूजाकक्ष, ध्यानकक्ष, भान्सा र शयनकक्ष तथा चर्पीका अवशेष अहिलेकै सभ्यतासँग मेल खाने खालका छन्। भिरालो र जोखिमयुक्त पहाडमा बनाइएका गुफाको अध्ययनका क्रममा भेटिएका मानव कंकाल 15 सय वर्ष पुराना र तिब्बती बोन धर्मको 8 हजार पृष्ठको ग्रन्थ 14औँ शताब्दीको रहेको पुष्टि भएको अनुसन्धान प्रतिवेदन विभागले शुक्रबार सार्वजनिक गरेको थियो।गुफामा दैनिक जीवनमा आवश्यक कक्षहरूसँगै शव राख्ने कोठासमेत छुट्टै भेटिएको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले बताए।अहिलेका आधुनिक बंगलामा झैं गुफाभित्र प्रत्येक कोठामा हावा र प्रकाश छिर्ने व्यवस्था मिलाइएको छ।

             अमेरिकी पुरातत्वविद्को समेत संलग्नतामा सन् 2008 बाट सुरु मुस्ताङका प्राचीन गुफाको जारी अनुसन्धान 2013 सम्म गरिने विभागले जनाएको छ।स्थलगत अध्ययनले तत्कालीन मानवीय जीवनयापन शैली पत्ता लागेको अनुसन्धाताले जनाएका छन्। रेखदेख अभावले गुफाहरू भत्किँदै गएको र माटोले पुरिएर कतिपय गुफामा जानसमेत नसकिने अवस्था रहेको विभागले जनाएको छ।अध्ययनमा विभागका अनुसन्धान अधिकृतसँगै अमेरिकी मानवशास्त्री तथा पुरातत्वविद् मार्क एलेर्न्डफर र पाँचपटक सगरमाथा आरोहण गरेका पिटर एथेन्स संलग्न छन्।