गद्दाफि विरोधी र समर्थक बीच भएको हिंसात्मक भीडन्तमा मारिनेहरुको अन्त्येष्टी,तेल क्षेत्र नियन्त्रण लिने क्रममा लिवियामा झडप
फाल्गुन २१ गते, २०६७ मा प्रकाशित
लिबियामा सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिने बेग्रा शहरमा गद्दाफि विरोधी र समर्थक बीच भएको हिंसात्मक भीडन्तमा मारिनेहरुको अन्त्येष्टी गरिएको छ। तेल क्षेत्र रहेको बेग्रालाई नियन्त्रणमा लिने क्रममा भीडन्त भएको थियो। बयालिस वर्षदेखि एकछत्र शासन गर्दै आएका शासक मोअम्मर गद्याफि विरुद्धको आन्दोलन जारी रहेको समयमा बुधवार बेग्रा शहरमा गद्याफि समर्थक फौजले आक्रमण गर्दा कम्तीमा बाह्र जना प्रदर्शनकारी मारिएका थिए।
तेल क्षेत्र नियन्त्रण लिइरहेका गद्याफि विरोधी प्रदर्शनकारी माथि गद्याफी फौजले धावा बोलेपछि सो हताहति भएको थियो। बेग्रा शहरमा तेल क्षेत्र नियन्त्रण लिने क्रममा दुइ पक्ष बीच अहिले पनि भिषण भिडन्त जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्याफिले तत्काल राजिनामा दिइ सत्ता छाड्नुपर्ने दोहोर्याएका छन्। उनले गद्याफिले नेतृत्व गर्ने वैधानिक अधिकार गुमाएको बताउँदै तत्काल सत्ता छाड्नुपर्ने बताएका हुन्।
अमेरिका भ्रमणमा रहेका मेक्सिकोका राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा ओबामाले निर्दोष जनता माथि भएको हिंसात्मक आक्रमणका जिम्मेवारलाई कानुनको कठघारा ल्याइने पनि बताए। त्यसैगरी गद्याफि विरोधी प्रदर्शनकारीले गद्याफिले राजिनामा नदिएसम्म वार्तामा नबस्ने अडान लिँदै गद्याफिले देश छाड्नुपर्ने बताएका छन्। बेन्घाजीमा स्थित नेशनल लिबियन काउन्सीलले सरकारी फौजको हवाइ आक्रमण रोक्न अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय अपराध अदालतले मानवता विरोधी अपराधमा संलग्न गद्याफी, उनका छोरा सहित अन्य अधिकारी माथि अनुसन्धान गरिने चेतावनी दिएको छ।