काठमाडौं – उच्च माध्यमिक शिक्षा परिषद्ले यसपालीदेखि ‘प्लस टु’को प्रश्न पत्र स्वदेशमै छाप्ने निर्णय गरेको छ । परिषद्को परीक्षा समितिको बिहीवारको वैठकले यस्तो निर्णय गरेको हो ।
एसएलसी प्रश्नपत्र जनकशिक्षाको सुरक्षा प्रेसमा छापिएपछि परिषद्लाई स्वदेशमै प्रश्नपत्र छाप्न दवाव परेको थियो । यसअघि प्रश्न पत्र भारतमा छापिदै आएको थियो । कक्षा ११ र १२ का गरी करिब साढे ६ लाख विद्यार्थीले वर्षेनी परीक्षा दिन्छन् ।
भारतमा प्रश्नपत्र छाप्ता बढी खर्च हुने भन्दै लेखा समितिले एसएलसी प्रश्न स्वदेशमै छाप्न निर्देशन दिएको थियो । एसएलसीका करिब ५ लाख विद्यार्थीका लागि ५७ विषयको प्रश्न पत्र छाप्न करिब डेढ करोड लागेको थियो ।
लेखाको निर्णय आफूहरुलाई नलाग्ने भन्दै परिषद् पन्छिन खोजे पनि व्यापक दवावका कारण प्रश्नपत्र स्वदेशमै छाप्ने निर्णय भएको वैठकमा सहभागी एक अधिकारीले इकान्तिपुरलाई बताए ।
‘विदेशमा प्रश्न पत्र छाप्दा नियमसंगत आउने भत्ता त छँदैछ, अनियमित तरिकाले आर्थिक चलखेल हुने गरेको छ’, ती अधिकारीले भने, ‘आखिर विदेशमै छापे पनि प्रश्न पत्र परीक्षा अघिनै बाहिर आउने कुरा रोक्न सकिएको छैन ।’
परिषद् स्रेतका अनुसार जनक शिक्षा वा त्रिविको सुरक्षा प्रेसमा प्रश्न पत्र छाप्ने बारे छलफल भएको छ । प्रश्न पत्र छाप्दा अपनाउनु पर्ने सुरक्षा प्रकृया तथा भोलि आइपर्ने खतराबारे पनि विमर्श भएको वैठकमा सहभागी एक अधिकारीले बताए । ‘यही भोलि आइपर्ने समस्याबारे हामी सचेत छौं’, ती पदाधिकारीले भने ।