विश्वमा सबैभन्दा हातहतियार आयात गर्ने राष्ट्र भारत भएको एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाद्वारा प्रतिवेदन सार्वजनिक

छिमेकी राष्ट्र चीनलाई पछाडि पार्दै भारत विश्वमा सबैभन्दा हातहतियार आयात गर्ने राष्ट्र बनेको छ। सुरक्षा खर्चमा एघार प्रतिशतले वृद्धि गरे लगत्तै भारत हातहतियार खरिद गर्ने राष्ट्रमा अगाडि रहेको एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा उल्लेख छ। स्वीडेनको स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टीच्यूटले गरेको अध्ययनमा भारत विश्वमा सबैभन्दा हतियार आयात गर्ने राष्ट्र भएको जनाएको छ। सन् दुइ हजार छ देखि दुइ हजार दशसम्म गरेको अध्ययनमा विश्वमा हुने कुल हतियार आयातको नौ प्रतिशतभन्दा बढी भारतले गर्ने गरेको सो अध्ययनले देखाएको छ। भारतले सबैभन्दा बढी हातहतियार आयात रुसबाट गर्ने गरेको पनि बताइएको छ।

 

संस्थाका अनुसार पाँच वर्षको अवधिमा सयुक्त अरब इमिरेट्स, इजरेल, इजिप्ट र अल्जेरियाले पनि सबैभन्दा बढी हतियार आयात गर्ने राष्ट्र भएका छन्। त्यसैगरी अमेरिकाले सैन्य उपकरण निर्यात गर्ने राष्ट्रमा अमेरिका सबैभन्दा अगाडि रहेको छ। अमेरिकाले विश्वमा हुने हतियार बेचविखनको तीस प्रतिशत हिस्सा ओगटेको पनि सो संस्थाले जनाएको छ।

 

भारतका अर्थमन्त्री प्रणव मुखर्जीले आर्थिक वर्ष दुई हजार एघार/बाह्रको बजेटमा रक्षा क्षेत्र तर्फ बढी बजेट विनियोजन गरेका थिए। उनले सुरक्षा खर्च करिब बाह्र प्रतिशतले वृद्धि गर्दै एक लाख चौसठ्ठी हजार चार सय पन्ध्र डलर विनियोजन गरेका थिए। भारत सरकारले विनियोजन गरेको रक्षा बजेट सुरक्षाकर्मीलाई आधुनिकीरण बनाउने उद्धेश्यले गरिएको बताएको छ।

 

 त्यसैगरी आधुनिक हतियार र बन्दोवस्तीका सामान खरिदका लागि उनान्सत्तरी हजार एक सय उनान्सय करोड डलर रकम विनियोजन गरेको छ। सुरक्षालाई देशको सबैभन्दा चूनौतिका रुपमा लिने भारतको अहिले विनियोजित रक्षा बजेट चीनको भन्दा आधा रहेको छ।।