नेपालबारे छिमेकी मुलुक भारतको पछिल्लो विवादस्पद मूल्यांक विकिलिक्स्ले खुलासा,नेपाललाई असफल राष्ट्रका रूपमा चित्रण

– नेपालबारे छिमेकी मुलुक भारतको पछिल्लो विवादस्पद मूल्यांक विकिलिक्स्ले खुलासा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत हरदीप सिंह पुरीले करिब दुई वर्षअघि अमेरिकी समकक्षी सुसन राइससँगको कुराकानीका क्रममा नेपाललाई असफल राष्ट्रका रूपमा चित्रण गरेका थिए । अमेरिकी राजदूत राइसले २००९ जुलाई ७ मा अमेरिकी विदेश मन्त्रालयलाई पठाएको गोप्य इलेक्ट्रोनिक सूचना अर्थात् केबलमा पुरीको भनाइ उद्धृत गरिएको छ ।

‘पुरीले भारत असफल राष्ट्रहरूको खण्ड (आर्क अफ फेल्ड स्टेटस्) नेपाल, श्रीलंका र अफगानिस्तानले घेरिएको कुरा उठाउनुभयो र अमेरिकी तथा भारतीय संयुक्त चासोबारे ध्यानाकर्षण गराउनुभयो,’ केबलको अन्तिम अनुच्छेदमा उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमहरूले छिमेकी मुलुकलाई असफल राष्ट्र करार दिने धारणा भारतको आधिकारिक विदेश नीतिले अनुमति नदिने टिप्पणी गरेका छन् । विकिलिक्स्को केबलमा हालसालै पहुँच पाएको भारतीय दैनिक दी हिन्दुको पहिलो पृष्ठको मुख्य समाचारमा लन्डनबाट संवाददाता हसन सुरुरले लेखेका छन्, ‘वास्तवमा छिमेकमा आर्क अफ फेल्ड स्टेटस्को धारणा पूर्ण रूपमा नौलो हो र यसका लागि आधिकारिक भारतीय विदेश नीतिले अनुमति दिँदैन ।’

उक्त केबलमा माओवादी नेत्तृत्वको सरकार ढलेपछि उत्पन्न परिस्थितिलाई इंगित गर्दै पुरीले नेपाललाई असफल राष्ट्रको सूचीमा राखेका हुन् । सन् २०१० को असफल राष्ट्रहरूको आधिकारिक सूचीमा नेपाल २६ औं स्थानमा रहे पनि छिमेकी मुलुकले असफल करार दिएको यो पहिलो पटक हो । उक्त सूचीमा नेपालभन्दा गम्भीर परिस्थिति भएको सूचीमा अफगानिस्तान ६, पाकिस्तान १०, म्यान्मार १६, बंगलादेश २४ र श्रीलंका २५ छन् ।

सामाजिक, राजनीतिक र आर्थिक रूपमा विफल भएका मुलुकलाई असफल राष्ट्रको करार दिने सामान्य सिद्धान्त रहेपनि त्यसका लागि विश्वव्यापी चार मापदण्ड छन् । पहिलो, आफ्नो भूभागको भौतिक नियन्त्रण गुमाउनु वा त्यहीभित्र भौतिक बलको वैधानिक प्रयोगमाथि एकल नियन्त्रण हुनु । दोस्रो, सामूहिक निर्णय लिने वैधानिक अधिकारवालाको क्षय हुँदै जानु । तेस्रो, आवश्यक सार्वजनिक सेवा उपलब्ध गराउन असफल हुनु र चौथो, अन्तर्राष्ट्रिय समुदायको पूर्ण सदस्यका रूपमा अन्य मुलुकसँग सम्बन्ध राख्न असफल हुनु ।