जपानको भूकम्प प्रभावित क्षेत्रको आणविक भट्टीको अवस्था गम्भीर रहेको राष्ट्रसंघिय आणविक उर्जा आयोग अर्थात् आइ.एइ.ए.ले जनाएको छ। आइ ए इ एका प्रमुख यूकिया अमानोले आगामी दिनहरुमा आणविक खतराको समस्या जटिल बन्न सक्नेतर्फ ध्यानाकर्षण गराएका छन्। आइ. एइ.ए.को संकटकालिन बोर्ड बैठकमा बोल्दै अमानोले जपानको आणविक भट्टीको अवस्था अति गंभिर रहेको बताएका हुन्। यद्यपी उनले आणविक भट्टीहरुमा गरिएका प्रयास सकारात्मक रुपमा अघि बढिरहेकाले आफू लगायत समग्र विस्व समुदायलाइ केही राहत मिलेको उल्लेख गरेका छन्।
यद्यपी उनले ढुक्कसँग बस्ने अवस्था भने नरहेको भन्दै आगामी दिनमा पनि जपानी आणविक भट्टीको संभावित खतराका सम्बन्धमा बेलैमा सचेत र सतर्क हुनुपर्नेमा जोड दिएका छन्। फूकूसिमा आणविक भट्टीका वैज्ञानिक एवं प्राविधिकले आणविक भट्टीको ठप्प रहेको चिस्यान प्रणालीलाई पुन संचालनमा ल्याउने प्रयास जारी राखेका छन्। उता सूनामी र भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेर ८ हजार नाघेको छ भने १३ हजार भन्दा बढी हराइरहेका छन्।।
जपान विश्व बैक
गत साताको भूकम्प र सूनामीका कारण प्रभावित बनेको जपानलाई पुनर्निर्माणका लागि पाँच वर्षभन्दा बढी समय लाग्नसक्ने विश्व बैंकले जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेकोे प्रतिवेदनका अनुसार जपानमा भूकम्प र सूनामीका कारण २ सय ३५ अर्व डलर भन्दा बढीको क्षति भएको छ। प्रतिवेदनमा यो वर्ष जपानको आर्थिक बृद्धिमा समेत प्रभाव देखिएको जनाइएको छ। भूकम्प र सुनामीका कारण जपानको यो वर्षको आर्थिक बृद्धि दरमा शुन्य दशमलव ५ प्रतिशतको गिरावट आउन सक्ने जनाइएको छ।
यद्यपी विश्व बैंकले केही समयको अन्तरालमै जपानको आर्थिक बृद्धि दरमा भएको नकारात्मक प्रभावलाइ पुर्नका लागि जपानीहरु सक्षम रहने पनि उल्लेख गरेको छ। गत ११ मार्चमा गएको शक्तिशाली भूकम्प र सूनामीका कारण जपानले अकल्पनिय क्षतिको महशुस गर्नुपरेको थियो।