आलु महोत्सवमा आलुबाट बनेका २० परिकार



 

– शिव शर्मा

 

कास्की – आलुको पनि मम । पोखराकी पार्वती जिसी नयाँ परिकार खान पाउँदा मख्खै परिन् । कास्कीको हेम्जामा शुक्रबार सुरु भएको आलु महोत्सवमा आलुबाट बनेका विभिन्न परिकार चाख्न सर्वसाधारणको भीड लागेको थियो । आलुका विभिन्न परिकार बनाउँदै गरेकी प्रशंसा रेस्टुरेन्टकी शारदा गौतमले भनिन्, ‘खानेको भीडले बनाउन भ्याई नभ्याई छ ।’

जिल्लामै सबैभन्दा बढी आलु उत्पादन हुने हेम्जामा सुरु महोत्सवमा आलुका २० भन्दा बढी परिकार खान पाइन्छ । महोत्सवको उद्घाटनका अवसरमा स्थानीय किसानले आलुलगायत तरकारीको माला लगाएर आलुकै गीत गाउँदा निकै रमाइलो भएको थियो । आलुको बजार प्रवर्द्धनमा जुटेका किसान ठाकुरप्रसाद तिमिल्सनाले भने, ‘हाम्रो गाउँको उत्पादनलाई राष्ट्रिय रूपमा चिनाउन महोत्सव गरेका हौं ।’


स्थानीय आमा समूहहरू महोत्सव मनाउन आलु फलाऊँ भन्ने भजन गाउँदै आलुकै माला लगाएर महोत्सव स्थलमा देखिँदा सबैले ताली बजाएर स्वागत गरेका थिए । ‘आलुको प्रचार गर्न यसकै माला लगाएर महोत्सवमा आएका हौं,’ शालिकराम बाँस्तोलाले भने, ‘आलुबिनाको तरकारी कल्पना पनि गर्न सकिँदैन ।’ महोत्सवको यो आकर्षणसँगै आलुको स्वाद चाख्न र यसको खेती प्रविधिबारे जान्नसमेत महोत्सवमा उत्साहपूर्ण भीड बढेको छ ।


महोत्सवमा आलुको मम, रुलर, पापर, आलु क्वाफ, आलु भुनिया, चुकाउनी लगायतको स्वादले धेरैलाई लठ्यायो । ‘आलुका नयाँ स्वाद चाख्न पाइयो,’ मुस्ताङचोकका डिबी नेपालीले भने, ‘आलुबाट यति धेरै परिकार बनाउन सकिने रहेछ ।’ आलुको परिकारसँगै सुपथ मूल्यमा आलु किन्न ग्राहकहरूको पनि महोत्सवमा हानथाप देखियो ।


१हजार १ सय घरधुरी रहेको गाउँमा ५ सयभन्दा बढी परिवारले व्यावसायिक रूपमा आलु खेती गरेका छन् । हेमजाको आलु पोखराको कोसेलीका रूपमा समेत लोकप्रिय मानिन्छ ।


आलुबाट आयआर्जनसँगै मनग्गे आम्दानी गरेका मिलन तिमिल्सनाले यसैको खेतीले गाउँलेको जीवनस्तर माथि उठाएको बताए । उनले १२ रोपनी जग्गामा आलु खेती गरेर वाषिर्क ३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । बाँस्तोलाले भने, ‘आलुबाट हुने आम्दानीले सन्तुष्ट छु ।’ आलु गाउँका रूपमा प्रख्यात यहाँबाट वाषिर्क १६ करोड रुपैयाँको आलु खपत हुँदै आएको छ ।