– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट
उत्तरी रसुवाको चिलिमे गाउँ नजिक नयाँ तातोपानी कुण्ड फेला परेको छ । स्थानीय मुङगाङ भन्ने भिरको फेदीमा उत्कृष्ट तातोपानी रहे तापनि भौगोलिक विकटताका कारण त्यस ठाउँमा मानिस विरलै पुग्ने गरेको र देखे पनि बूढापाकाले त्यसको महत्व बुझिरहेका थिएनन् ।
आफूले गोठालो जाने क्रममा तातोपानी फेला पारेबाट संरक्षण व्यवस्थापन र उपयोगका लागि आफूले विभिन्न सङ्घसंस्था समुदायसँग परामर्श गर्न थालेको चिलिमे गाउँ विकास समिति-४ का बहादुर तामाङले जानकारी दिनुभयो । तातोपानीसम्म जाने बाटो निर्माण गरी प्रचारप्रसार गर्न र बिरामीलाई नुहाउन जाने वातावरणका लागि पूर्वाधारको विकास गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य भएको बताइएको छ ।
तातोपानीमा नुहाउँदा गानोगोला चर्मरोग दमबाथ र स्त्रीसम्बन्धी रोग निको हुने बताइएको छ । आफू तातोपानी नुहाई फर्केको र थाम्वुचेतबाट ४० मिनेटमा त्यहाँ पुग्न सकिने थाम्वुचेतका मोहनविक्रम श्रेष्ठले बताउनुभयो । नयाँ तातोपानी क्षेत्र उत्कृष्ट भएकाले चिलिमे गाविसले त्यसको विकासका लागि योजना र बजेट बनाउन थालेको छ ।