अमेरिकी राष्ट्रपति बाराक ओबामाले आम नागरिकको जिउधनको रक्षा गर्नको लागि शासक कर्णेल गद्दाफी विरुद्ध सैन्य कारवाही गर्नु परेको भन्दै लिविया युद्धको बचाव गरेका छन्।
राजधानी वाशिंगटन डिसिस्थित नेशनल डिफेन्स यूनिभर्सिटी विश्वविद्यालयबाट देशबासीलाई सम्बोधन गर्दै उनले गद्दाफीका वफादार सैनिकहरुले निर्दोष नागरिकहरुको हत्या र हिंसालाई जारी राखेको हुनाले अमेरिकाले लिवियामा युद्ध गर्नु परेको स्पष्ट पारेका छन्।
ओबामाले गद्दाफीको परिवारको विदेशमा रहेको सम्पत्तिलाई लिवियाको पुर्ननिर्माण र विकासमा खर्च गरिने बताएका छन्। गद्दाफीको परिवार र सहयोगीको विदेशमा रहेको ३३ अर्व डलर सम्पत्तिलाई पश्चिमा गठबन्धनले रोक्का गरी राखेको छ। लिवियामा भैरहेको शैन्य कारवाही आफू राष्ट्रपति भएपछि ओबामाले थालेको पहिलो युद्ध हो।
लिविया युद्ध शुरु भएपछि देशबाशीको नाममा ओबामाको यो पहिलो सम्बोधन समेत हो। लिविया युद्धलाई अधिकांश अमेरिकीहरुले मन नपराएको हुनाले ओबामाले देशबाशीलाई सम्बोधन गरेका हुन्।