जाजरकोट – जाजरकोट जिल्लामा अत्यधिक रक्त स्रावका कारण एक सुत्केरी युवतीले ज्यान गुमाएकी छन् । जिल्लाको सीमा गाविस वडा न. १ की १६ वर्षीया रामकली विक को अत्यधिक रक्तस्रावका कारण शुक्रवार विहान मृत्यु भएको हो ।
सुत्केरी ब्यथाले च्यापेपछि सीमा स्वास्थ्य चौकीमा पुरयाईएकी विकले विहीबार बेलुकी छोरी जन्माइएकी थिईन् ।
लगातारको रक्तस्रावले छोरी जन्माएको १२ घण्टापछि विक को मृत्यु भएको हो । एकछिन पनि रक्तस्राव बन्द नभएको र रगत दिने कुनै उपाय नभएकै कारण अकालमा ज्यान गएको हो ।
यातायातको असुविधाका कारण समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसकिएको हो । रामकलीले जन्म दिएकी छोरीको स्वास्थ्य स्थिति सामान्य छ । छोरीको तौल ३ दशमल्लव ५ किलो रहेको छ । रामकलीको यो पहिलो गर्भ भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
जिल्लाका कुनैपनि स्वास्थ्य संस्थामा आवश्यक उपकरण र रगत दिने ब्यबस्था हुन नसक्दा रक्त स्रावबाट बर्षेनी कयौं सुत्केरीले ज्यान गुमाउनु परेको डा गौतमले जनाए ।